धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत बिहानी सापकोटाले आइतबार आफ्नो व्यवसायिक योजना प्रस्तुत गरिन्। उनको योजना पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याड उत्पादन गर्ने हो। हाल प्रयोगमा रहेका अधिकांश सेनेटरी प्याड पुनःप्रयोग गर्न नमिल्ने र नष्ट हुन लामो समय लाग्ने भएकाले वातावरणीय र स्वास्थ्यका दृष्टिले उपयुक्त विकल्पको रूपमा पुनःप्रयोगयोग्य सेनेटरी प्याड उत्पादन गर्ने उनको योजना छ।
उनले भनिन्, ‘अहिले बजारमा पाइने सेनेटरी प्याड नष्ट हुन धेरै समय लाग्छ र पुनःप्रयोग गर्न सकिँदैन। त्यसको विकल्पका रूपमा स्वास्थ्यका हिसाबले सुरक्षित, पुनःप्रयोग गर्न मिल्ने र सजिलै नष्ट गर्न सकिने कपडाबाट बनेका सेनेटरी प्याड उत्पादन गर्न सकिन्छ। यसबारे सचेतना जगाउन सकियो भने यो राम्रो व्यवसाय बन्न सक्छ।’
घरमै बसेर नरम कपडाको प्रयोग गरी निर्माण गर्न सकिने भएकाले ठूलो लगानी आवश्यक नपर्ने उनले बताइन्। ‘सानो लगानीमा घरमै बसेर यो काम गर्न सकिन्छ र आम्दानी पनि लिन सकिन्छ,’ उनले भनिन्।
आठौँ बागलुङ महोत्सव २०८२ अन्तर्गत आइतबार आयोजित व्यवसायिक योजना प्रतियोगितामा उनले उक्त योजना प्रस्तुत गरेकी थिइन्। उनीजस्तै करुणा सापकोटाले स्थानीय रूपमा खेर गइरहेका अमिला र कागती प्रयोग गरी अर्गानिक चुक उत्पादन गर्ने योजना सुनाइन्।
उनले भनिन्, ‘हाम्रो गाउँघरमा अमिला र कागती धेरै खेर गइरहेका छन्। तीबाट चुक बनाएर बिक्री गर्दा राम्रो मूल्य पाउन सकिन्छ। मौसमी समयमा उत्पादन गरेको चुक वर्षभरि बिक्री गर्न सकिन्छ, जसले किसानलाई पनि प्रत्यक्ष फाइदा पुग्छ।’
त्यसैगरी अर्की सहभागी जल्पा केसीले घरपालुवा कुकुर व्यवस्थापनका लागि पेट हाउस सञ्चालन गर्ने योजना प्रस्तुत गरिन्।
उनका अनुसार सामान्य शुल्क लिएर घरपालुवा कुकुरलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, बुढो भएपछि सडकमा छाड्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यले कुकुर व्यवस्थापन सेवा सञ्चालन गर्न सकिन्छ।
‘स्टार्टअप पिचिङ’ नाम दिइएको उक्त व्यवसायिक योजना प्रतियोगितामा १४ जना सहभागीले आ–आफ्ना उद्यम योजना प्रस्तुत गरेका थिए। प्रतियोगिताबाट करुणा सापकोटा, बिहानी सापकोटा र जल्पा केसीका योजना उत्कृष्ट घोषित भए।
उत्कृष्ट घोषित तीनै जनालाई जनही नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। साथै ती योजनालाई व्यवसायका रूपमा सञ्चालन गर्न चाहेमा बागलुङ नगरपालिकाले जनही एक लाख रुपैयाँका दरले बिनाधितो सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।
बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार नगरप्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत उत्कृष्ट तीन प्रतियोगीलाई तीन प्रतिशत ब्याजदरमा बिनाधितो एक लाख रुपैयाँ सहयोग गरिनेछ।
उनले भने, ‘हामीले यहाँ धेरै युवाका उद्यम योजना सुन्न पायौँ। सबै योजना राम्रो छन्। उत्कृष्ट ठहरिएका तीन जनालाई पहिलो वर्ष व्यवसाय सुरु गर्न बिनाधितो, तीन प्रतिशत ब्याजमा एक लाख रुपैयाँ उपलब्ध गराइनेछ। व्यवसायको प्रगति हेरेर आगामी वर्षहरूमा सहयोग रकम थप्दै लैजाने योजना छ।’
युवालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतियोगिताका संयोजक गणेश महतोले बताए।
उनले भने, ‘युवा विदेश पलायन भइरहेको सन्दर्भमा उनीहरूका उद्यम योजना सुनेर हौसला प्रदान गर्ने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।’
बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले उत्कृष्ट योजना कार्यान्वयन गर्न चाहने प्रतियोगीलाई संघले ‘सिड मनि’ समेत उपलब्ध गराउने जानकारी दिए।
उनले भने, ‘व्यवसायिक योजना बिक्री गर्न सक्नुहुन्छ, आफैँ व्यवसाय सञ्चालन गर्ने हो भने संघले पनि बीउ रकममा सहयोग गर्छ।’
बागलुङ उद्योग वाणिज्य संघको मूल आयोजनामा सुरु भएको आठौँ बागलुङ महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा महिला–पुरुष भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, ‘मेड इन बागलुङ’ स्टल, रमाइलो मेला लगायतका कार्यक्रम समावेश छन्।
प्रकाशित: १३ पुस २०८२ २०:२५ आइतबार





