२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

कटारीमा ‘दोस्रो सलेश कप फुटबल प्रतियोगिता’ हुने

यस वर्षको ‘दोस्रो सलेश कप खुल्ला नकआउट फुटबल प्रतियोगिता ०८१’ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। सलेश युवा क्लब कटारीले आगामी असोज १ गते उद्घाटन खेल हुने गरी तयारीमा जुटेको जानकारी दिएको छ।

प्रतियोगिता कटारी नगरपालिका-५ भोलेस्थित भोर्ले खेलमैदानमा असोज १ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता स्थानीय सामाजिक अगुवा स्वर्गीय पशुपति गिरीको स्मृतिमा गत वर्षदेखि सुरु गरिएको थियो।

आयोजक क्लबका अध्यक्ष देवन थापाका अनुसार यो दोस्रो संस्करण हो। जसमा उदयपुर र छिमेकी जिल्लाका विभिन्न खेल समूहहरूको सहभागिता रहनेछ। प्रतियोगिता आयोजनाको जिम्मा सलेश फुटबल क्लबले लिएको छ भने प्रायोजन गिरी परिवारले गरेको छ। 

प्रतियोगितामा विजेता टिमलाई नगद ७१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले नगद ५१ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।

क्लबका उपाध्यक्ष वसन्त भट्टराईले विधागत पुरस्कारहरू पनि रहने जानकारी दिए। जसमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी, साथै प्रत्येक दिनको म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा उदयपुर र सिन्धुलीका १६ खेल समूहले प्रतिस्पर्धा गर्नेछन्। उदयपुरका सलेश युवा क्लब, कटारी च्याँगा फुटबल क्लब, साकार फुटबल क्लब कटारी, नेपाली सेनाको बेतसोत क्याम्प, आदर्श युवा क्लब, मुनाल फुटबल क्लब, त्रिवेणी स्पोर्ट्स क्लब, बीबीसी उदयपुर, जहडी फुटबल क्लब र खैरेनी फुटबल क्लब सहभागी हुनेछन्।

सिन्धुलीबाट मित्रता युवा क्लब, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नमुना जन उत्थान क्लब, डाईमण्ड फुटबल क्लब, जुनेली युवा क्लब र दुधौली स्पोर्ट्स क्लबको सहभागिता हुनेछ।

प्रतियोगिता सफलताका लागि गिरी परिवारबाहेक अन्य संघसंस्थाहरूको सहयोग लिइने पनि क्लबका सचिव सुमन श्रेष्ठले जानकारी दिए। पत्रकार सम्मेलनमा खेल तालिका (टाईसिट) पनि सार्वजनिक गरिएको थियो।

प्रकाशित: २७ भाद्र २०८१ २१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App