२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी आवश्यक: कृषिमन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकहरूबीच रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, कोसी प्रदेशद्वारा विराटनगरमा आयोजित कृषि एक्स्पो २०८१ को उद्घाटन समारोहमा बोल्दै मन्त्री अधिकारीले सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि ‘कृषि लगानी दशक’ घोषणा गरेको बताए।

मन्त्री अधिकारीले कृषि लगानी दशक अन्तर्गत बैँक तथा वित्तीय संस्थामार्फत विशेष उत्पादनहरूमा लगानी सहजीकरण गरिने बताए। उनले भने, "निजी क्षेत्र र सहकारीको लगानी अपेक्षाअनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा चुनौती आइरहेको छ। यसलाई सुधार्न कृषिमा निजी क्षेत्रको सहभागिता आवश्यक छ।"

मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजलाई बजार अभाव रहेको अवस्थामा एक्स्पो वा महोत्सवजस्ता कार्यक्रमहरूले स्वदेशी उत्पादनको खपतमा सहजता ल्याउने र बजारको सम्भावना पहिचान गराउने बताए।

उनले नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायीहरू मर्कामा परेको जनाउँदै दुग्ध पदार्थको विविधीकरण र बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले दुग्ध विकास संस्थानमार्फत किसानहरूलाई दिनुपर्ने दूधको मूल्य छिट्टै भुक्तानी गरिने बताए। "अब भुक्तानीको चरणमा प्रवेश गरिसकेको छ, दूधको मूल्य बक्यौता छिटै समाधान हुनेछ," मन्त्री अधिकारीले आश्वासन दिए।

 

यो पनि पढ्नुहोस्

कटहरीमा कृषि एक्स्पो सुरू

 

प्रकाशित: २७ भाद्र २०८१ २१:५५ बिहीबार