३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कटहरीमा कृषि एक्स्पो सुरू

मोरङको कटहरीमा आयोजित कृषि एक्स्पोमा सहभागिहरू। तस्बिरः चुमन बस्नेत/नागरिक

कटहरी स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरू भएको छ। चार दिनसम्म चल्ने एक्स्पोको बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजामा सुरु भएको कृषि–एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसान र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताए।

स्वदेशी उत्पादनको प्रबद्र्धन र आयात प्रतिश्थापन गर्न प्रदेश सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको मुख्यमन्त्री कार्कीले जनाए। उनले २०७६ सालमा संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरेको कृषि बजारको पूर्वाधार सञ्चालनमा आउन नसकेको भन्दै सरकारले बनाएको पूर्वाधारमा बजार सञ्चालन गर्न नीजि क्षेत्रलाई आग्रह गरे।

‘पूर्वाधार तयारी अवस्थामा रहेकाले कसरी कृषि बजारलाई निरन्तर सञ्चालन गर्न सकिन्छ। प्रदेश सरकारले के–के पूर्वाधार वा नीति बनाउनुपर्ने हो। थप पूर्वाधार र नीति बनाउन तयार छ, नीजि क्षेत्र कृषि बजार सञ्चालनका लागि अघि बढोस् ’ मुख्यमन्त्री कार्कीले भने।

१७ करोड बढी लागतमा कटहरीमा निर्माण भएको कृषि थोक बजार सञ्चालनमा नआउँदा सरकारको ठूलो लगानीमा निर्माण भएको पूर्वाधार अलपत्र परेको छ।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए।

‘सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिहेको छ,’ उनले भने। दूग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधीकरण गर्न आवश्यक रहेको मन्त्री अधिकारीले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मन्चमा ल्याउने उद्देश्यसाथ एक्सपो आयोजना गरिएको जानकारी दिए।

राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको सुनाए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए। हरेक वर्ष हुने कृषिजन्य र खाद्यान्न वस्तुको बढ्दो आयात चिन्ताको विषय भएको उनको भनाइ छ।

कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन्। जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुसलगायतका कृषि सामग्रीका स्टल छन्।

मेला अवलोकन गर्न बाहिरी जिल्लाबाट आउनेका लागि खाना र बस्न निःशुल्क गरिएको छ। एक्स्पोलाई व्यवस्थित र सहज बनाउन ५ वटा ब्लक छुट्याइएको छ।

‘ए’ ब्लकमा पशुपंक्षी, ‘बी’ मा कृषि, ‘सी’ मा मेसिनरी, ‘डी’ मा फुड स्टल र ‘ई’ मा गोष्ठी तथा परामर्श सेवा रहेको छ।

प्रकाशित: २७ भाद्र २०८१ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App