२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत्यु शय्यामा बैतडीका पारस, उपचारका लागि आर्थिक सहयोगको अपील

मुलुकको सबैभन्दा बुढो वीर अस्पताल, जहाँ देशभरका बिरामी उपचारका लागि आउने गर्छन्। समय धेरै लागेपनि सरकारी अस्पताल भएका कारण निजीको भन्दा कम शुल्कमा गुणस्तरीय उपचार सेवा पाइन्छ,भनेर दैनिक ३ सय देखि ४ सय वा त्योभन्दा पनि बढी बिरामीले सेवा लिन्छन्। तीनै मध्येका एक हुन् बैतडीका पारस कुँवर।

१८ वर्षीय पारस अहिले वीर अस्पताल अन्तर्गत सञ्चालित राष्ट्रिय ट्रमा सेन्टरको हाडजोर्नी विभागमा भर्ना छन्। ४४३ नम्बर बेडमा पल्टिरहेका पारसको देवे्र खुट्टामा क्यान्सर फैलिसकेको छ। चिकित्सकहरूका अनुसार उनको खुट्टाको नसामा रगत जमेका कारण ८० प्रतिशत भागमा क्यान्सर फैलिसकेको छ।

पारसको खुट्टा काटेरै फाल्नुपर्ने र त्यसका लागि शल्यक्रिया मात्रै विकल्प रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। जसका लागि कम्तिमा पनि ७ देखि ८ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ। जुन पारसको परिवारका लागि सम्भव नै छैन्। यदि खुट्टा काटेर समयमै फालिएन भने शरीरका अन्य भागमा पनि क्यान्सर फैलिन सक्ने जोखिम रहेको छ।

यो पीडा पारसका लागि आजको भने होइन। करिब तीन महिनाअघि लडेर उनको खुट्टा भाँचियो। खुट्टा भाँचेपछि उनी हिँडडुल गर्न नसक्ने भए। परिवारले जेनतेन खर्च जुटाएर उनलाई धनगढीस्थित निसर्ग अस्पताल लगेँ। त्यहाँ उनको खुट्टाको शल्यक्रिया गरेर  घर फर्काइयो। घर फर्केको एक महिनापछि फेरि पारसको खुट्टामा समस्या बल्झिन थाल्यो। उनको स्वास्थ्यमा कुनै सुधार देखिएन। अस्पतालको लापरबाहीले होला भन्ने मनमा लागेपछि परिवारले पारसलाई एक हप्ताअघि मात्रै वीर अस्पताल ल्याए। त्यहाँ उनको उपचारका लागि जाँच गरी ट्रमा सेन्टरमा भर्ना गरियो।

एक सातादेखि अस्पतालको बेडमा रहेका पारस न आफैंले हिँडडुल गर्न सकिरहेका छन् न त कोल्टो नै फेर्न सकिरहेका छन्। उनको देव्रे खुट्टा सुन्निएको छ, उनलाई पीडा मात्रै महसुस हुन्छ। उनी न बोल्न सक्छन्। न त आफ्नो पीडा बयान गर्न नै सक्छन्। १८ वर्षको उमेरमै आफ्नो अवस्था देखेर उनको गहभरी पीडाका आँसु बाहेक केही छैनन्।

यदि शल्यक्रियाका लागि रकम जुटाइएन भने उनको जीवन कतिदिन रहन्छ भन्ने पनि उनलाई थाहा छैन। क्यान्सर जस्तो रोग शरीरका अन्य भागमा फैलियो भने उनको स्वास्थ्य अवस्था कति जटिल बन्न सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन्।

बैतडी पुर्चौडी नगरपालिका–५ घर भएका पारसको उपचारका लागि आर्थिक अभाव भएको हुँदा उनका मामा अम्मर विष्टले सहयोगका लागि अपील गरेका छन्। उनले समय अभाव भएको हुँदा सक्दो आर्थिक सहयोग जुटाइदिन र मद्दत गरिदिनका लागि सबैलाई आग्रह समेत गरेका छन्।

सहयोगी हातहरूका कारण पारसले नयाँ जीवन पाउन सक्ने आशा रहेको हुँदा उनले आर्थिक सहयोग मागेका हुन्। 

सहयोगी मनहरुको लागि :

महेश बहादुर विष्ट (मामा) 

14507010001885 

ग्लोबल आइएमई बैंक लिमिटेड 

प्रकाशित: ७ भाद्र २०८१ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App