२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

भैंसीसँग जुध्दा बाघको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका ६ मा भैंसीसँग जुधेर एउटा बाघको मृत्यु भएको छ।

मनहरी ६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ। सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।

बाघ बुढो भएकोले भैंसीसंग जुध्ने क्रममा मृत्यु भएको हुनसक्ने आशंका गरिएको भन्डारीले बताए। घटनाको विषयमा जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थल पुगेको थियो।

निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बुढो भएकोले भैंसीले हान्दा मृत्यु भएको देखिएको बताएको छ। आज बिहान चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मृत बाघ जिम्मा लोएर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पछिल्लो समय मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावर बाघ, गैंडा, हात्ती लगायतको आक्रमण बढ्दो क्रममा रहेको छ। यस क्षेत्रका सर्वसाधारण जंगली जनावरको त्रासमा बस्न बाध्य रहेका छन्।

प्रकाशित: ६ भाद्र २०८१ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App