६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जो गणतन्त्रका लागि हाँसीहाँसी फाँसी चढेका थिए

दुर्गानन्द झाको ५८औं स्मृति दिवस

नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए, दुर्गानन्द झा । बिहीबार (०७७ माघ १५ ) उनको ५८औं स्मृति दिवस मनाइएको छ । उनले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरेको ४५ वर्षपछि देशमा गणतन्त्र आयो । उनी गणतन्त्रका लागि बलिदानी दिएको ५२ वर्षपछि सहिद घोषणा भए । तर उनी गणतान्त्रिक सरकारको प्राथमिकताबाट ओझेल परेका छन ।

नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे । तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो । तर उनको परिवारलाई सरकारले सहिद परिवारसरहको सम्मान दिन सकेको छैन, पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो ।’ जसले नेपालमा गणतन्त्रको शंखघोष गरे । राजाको खिलाफ बोल्ने साहससम्म नगर्ने समयमा जसले राजामाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरे ।  

मण्डल भन्छन्, ‘गणतान्त्रिक मुलुकमा दुर्गानन्दको बलिदानी ओझेल पर्नु विडम्बना हो ।’ यद्यपि त्यो हमला ज्यान लिने उद्देश्यले गरिएको थिएन । राजाबिनाको तन्त्र कल्पना गर्नु पनि अपराध करार हुने समयमा दुर्गानन्दले राजामाथि बम फ्याँकेर साहस मात्र प्रदर्शन गरेका थिएनन्,’ मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्योबेला नै प्रदर्शन गरेका थिए । तर मधेसी भएकै कारण दुर्गानन्द मरणोपरान्त पनि राज्यबाट सहिद घोषणा हुन दशकौं पर्खिनुपर्‍यो । सहिद घोषणा भएर पनि सहिदसरह सम्मान पाउन सकेका छैनन्, राजनीतिज्ञ मण्डलले भने ।’

२०२० माघ १५ गते दुर्गानन्द झालाई फाँसी दिइएको थियो । २०७२ फागुन १९ गते राज्यले उनलाई सहिद घोषणा गरेको थियो । गणतन्त्रका लागि हाँसीहाँसी फाँसीमा चढेका दुर्गानन्द झाले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुपर्‍यो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।

मधेसको दूरदेहातमा जन्मेर राजासँग फरक मत मात्र होइन, राजा नै चाहिँदैन भने साहस गर्ने पहिलो व्यक्तिका रूपमा चिनिन्छन्, दुर्गानन्द झा । झाको जन्म १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा पिता देवनारायण र माता सुकुमारीदेवी झाको एक्लो सन्तानका रूपमा भएको थियो । घरको एक्लो सन्तान भएकाले आमाबुवाले दुर्गानन्दको विवाह मेट्रिक पढ्दै गर्दा २०१७ सालमा गरिदिए । उनको विवाह काशीदेवी झासित सम्पन्न भएको थियो । दुर्गानन्दको पढाइ गाउँनजिकै पारिको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा भएको थियो ।

उनी विवाहको वर्षगाँठ मनाएर गर्भवती पत्नीलाई आमासँग छाडेर लोकतन्त्रको संघर्षमा होमिएका थिए । दुर्भाग्य उनको पहिलो सन्तान नै मृत जन्मे ।

२०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’ को विरोधमा कांग्रेसले आन्दोलन सुरुवात ग¥यो । प्रजातन्त्रमाथि ‘कु’ गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्दको आक्रोश उत्कर्षमा थियो । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजा महेन्द्रको जनकपुर सवारीका क्रममा बम प्रहार गर्ने योजना बनाएका थिए । २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर भ्रमणका क्रममा दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरि बम प्रहार गरे ।  

कडा सुरक्षा पहरा बीचमा रहेको महेन्द्र चढेको गाडीमाथि जनकी मान्दिरमा दुर्गानन्दले बम प्रहार गरे । यद्यपि बम पड्केन, गाडीको सिसामा क्षति भयो । बम प्रहार गरेर सकुशल उम्कनसमेत दुर्गानन्द सफल भएका थिए । त्यो दिन उनी जनकपुरमै सुरक्षित बसेर बिहान भारतको उभगाँव पुगेका थिए । दुर्गानन्दकै नजिकका व्यक्तिले उनलाई राजाबाट माफी दिलाइदिने भनेर बोलाए । जयनगरबाट रेल चढेर जनकपुर आउँदै गरेका दुर्गानन्द बाटोबाटै गिरफ्तार भए । पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा पुर्‍याइएको थियो । दुर्गानन्दमाथि राज्यले राजामाथि गाँत गाँदी हालेको (राजालाई मार्ने उपक्रम) गरेको अभियोग लगाइयो । उनलाई फाँसीको सजाय तोकियो । तर, ब्राम्हण जातीका उनलाई फाँसी वा मृत्युदण्ड दिन कानुनमा व्यवस्था थिएन । कानुनले ब्राम्हणलाई मृत्युदण्ड दिन रोक लगाएको थियो ।

त्यो बेला राज्यले जनकपुरमा राजामाथि भएको बमकाण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य  

रहनेगरी उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो । आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो ।

विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नै नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो । २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसलालाई सदर गरेको थियो ।  

राजनीतिज्ञ मण्डल भन्छन्, ‘ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन संशोधन गरेर यो देशमा फाँसी पाउने पहिलो व्यतिm दुर्गानन्द झा हुन् । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो । जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुण्ड्यार मृत्युदण्ड दिइएको थियो । राज्यले दुर्गानन्दलाई राजालाई बिन्तीपत्र लेखेर माफी मागे मृत्युदण्ड मिनाहा हुने अन्तिमसमयसम्म भनिरह्यो । 

तर, दुर्गानन्द झुक्न तयार भएनन् । उनले माँफी भन्दा मृत्युलाई स्वीकार गरे । उनी हाँसीहाँसी फाँसीमा चढे । यतिसम्म कि राज्यले दुर्गानन्दको मृत शरीरसमेत उनको परिवारलाई दिएनन् । उनको परिवार कुशलाई भारतको गयामा गएर अन्तिम संस्कार गरेका थिए । 

प्रकाशित: १६ माघ २०७७ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App