coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेशः फोहरसँगै चुलिँदै व्यवस्थापन सकस

तिनाउ नदी किनार पवित्रानगरमा बुटवलको फोहर विर्सजन गरिँदै । स्थायी ल्याण्डफिल्ड साइड नहुँदा बुटवलको फोहर बस्ती नजिकैको नदी किनारमा फाल्ने गरिएको छ । तस्बिर विनोद नागरिक

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रूपमा फाल्न थालेको करिब दुई दशक भयो। जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारेका थिए। तर फोहर तह लगाउने उचित तरिका अहिलेसम्म पनि अपनाइएको छैन।  

बुटवलमा एक दिनमा २५ टन फोहोर निस्कने गरेका बेलादेखि फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) बनाउने चर्चा हुन थालेको हो। तर, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर कार्यकाल पूरा हुने बेलासम्म पनि सहरको फोहोर तह लगाउने काम योजनामै सीमित हुने छाँट देखिएको छ। बुटवल उपमहानगरपालिकाका अनुसार यहाँ दिनैपिच्छे ५० देखि ६० टनसम्म फोहोर निस्कन्छ।

जनप्रतिनिधि निर्वाचित नहुँदै एसियाली विकास बैंक (एडिबी)को अनुदानमा सन् २०१४ मा बुटवलमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता भयो। यसको लागत करिब २७ करोड थियो। तर, फोहोर प्रशोधन केन्द्र बनाउने ठाउँ चरङ्गे भनभने खोँचका वासिन्दाको विरोध र उपमहानगरको बेवास्ताले गर्दा यो योजना विफल बन्यो। एडिबिको यो योजना फिर्ता भएपछि फोहर तह लगाउने अर्को विकल्प अझै भेटिएको छैन। जनप्रतिनिधि निर्वाचित भएर आएपछि फोहोरमैला व्यवस्थापन सम्बन्धि नियम बनाउने काम मात्रै भएको छ। बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले छिमेकी पालिकाहरूसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको बताए। ‘तिनाउको छेउमा अस्थायी रूपमा फोहोर तह लगाइएको छ, यसको स्थायी समाधानका लागि हामी लागि परेका छौं,’ नगरप्रमुख सुवेदीले भने। बुटवल उपमहानगरले फोहोर संकलनमा भने टोल विकास समितिलाई परिचालन गरेको छ। तर, संकलन गरिएको फोहोर बस्तीसँगै जोडिएको तिनाउ नदी किनारमै फ्याँकिन्छ।

त्यहाँ फालिएको फोहोर माटोले पुर्ने गरिएको छ। तर, अहिले माटोले समेत पुर्न छाडेकाले पवित्रानगर र माझगाउँ बस्ती फोहोरको दुर्गन्धबाट पीडित छन्। ‘नगरको फोहोरको स्थायी समाधान खोजिनुपर्ने होे, अहिले बस्ती छेउमा फोहोर फ्याकिएको छ, फोहर नपुरेकाले दुर्गन्ध फैलिएको छ,’ पवित्रानगर बस्ती विकासका अध्यक्ष जिवलाल अधिकारीले भने। सहर सफा त देखिएको छ, फोहोर विर्सजन गतिलोसँग नहुँदा स्थानीय सरकार निरीह जस्तो देखिएको छ।  

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा फोहोर प्रशोधन केन्द्र बनाउने योजना अघि बढेको छ। यही योजनालाई बुटवल उपमहानगरले दीर्घकालीन फोहोर व्यवस्थापनको योजनाका रूपमा लिएको छ। सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की संयोजक, बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्य सहसंयोजक रहनेगरी समिति गठन गरिएको छ। प्रांगारिक मल कारखाना बनाउने उद्देश्य भएको फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना भए पनि यो योजना पूरा हुन भने वर्षौैं लाग्ने देखिएको छ। सैनामैना नगरपालिका वडा न.१० को खोरमोरमा निर्माण गर्नेगरी प्रारम्भिक काम सुरु भएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। उनका अनुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ।

स्थानीय सरकारले निकै अधिकार पाएका छन्। तर, सहरको फोहोर तह लगाउन उनीहरू चुकेका छन्। भैरवहामा पनि फोहोर अव्यवस्थित तरिकाले फाल्ने गरिएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकको प्रवेशद्वार भैरहवाको फोहोर डण्डा नदी किनारमा फाल्ने गरिएको छ। सिद्धार्थ नगरपालिकाका योजना प्रमुख शैलैन्द्रकुमार श्रेष्ठका अनुसार एसियाली विकास बैंकको अनुदानमा अत्याधुनिक फोहोर व्यवस्थापन गर्नेगरी ल्याण्डफिल साइट निर्माण गर्ने योजना थियो। सिद्धार्थ नगरपालिकाले ओमसतयिा गाउँपालिका, पट्खौली गौरीगाउँमा १ करोड २ लाखमा ६ बिगाहा जग्गासमेत खरिद गरेको थियो। तर, यहाँ पनि राजनितिक र अन्य कारणले योजना विफल हुँदा फोहोर तह लगाउन सकिएन। ‘ओमसतिया र रोहीणी गाउँपालिकाको समेत फोहोर तह लगाउन सक्ने योजना गुम्यो। 

अहिले फोहोर तह लगाउने उपायबारे छलफल भइरहेको छ,’ योजना प्रमुख श्रेष्ठले भने। बढदो जनघनत्व र तिव्र सहरीकरणले गर्दा फोहोर बढिरहेको छ। अन्तर्राष्ट्रिय उडान गर्ने गरि विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। तर, यहाँ नदी छेउमा अव्यस्थित रूपमा फोहोर फाल्दा स्वास्थ्यसँगै पर्यटन क्षेत्रमा असर पर्छ। अहिले डण्डा नदीको छेउमा फोहोर फालिएको छ जसको असर बस्तीसम्म पुगेको छ। नदी छेउमा असरल्ल फोहोर देखिन्छ। सिद्धार्थनगर नगरपालिकाकाका उपप्रमुख उमा काफ्लेले पहिलेको योजना असफल हुनु नै भैरहवावासीका लागि दुर्भाग्य भएको बताइन्। ‘हाम्रो नगरपालिकाभित्र जग्गा छैन, जहाँ जग्गा खरिद गरिएको छ, त्यहाँ विरोध भयो, अहिले तत्काल फोहोर प्रशोधनस्थलबारे कुनै योजना छैन्,’ उनले भनिन।  

लुम्बिनी प्रदेशका सहरी क्षेत्रमध्ये पाल्पाको तानसेनमा पनि फोहोर व्यवस्थापनको काम निकै जटिल बनेको छ। सेतीपोखरी भन्ने ठाउँमा बनाइएको ल्याण्डफिल साइट स्थानीयको विरोधले गर्दा प्रयोगविहीन बन्न पुगेको हो। तानसेनमा पनि हाल जंगलबीचमा खाल्डो खनेर फोहर फालिएको सरसफाइ शाखा प्रमुख शंकर भण्डारीले बताए। उनका अनुसार यसरी फोहोर फाल्दा समस्या हुने भएकाले विकल्प खोजी भइरहेको छ। तानसेन नगरपालिकाले विश्व वैंकको ऋण अनुदानमा फोहोरबाट ऊर्जा निकाल्ने योजना अघि बढाएको जनाएको छ। विश्व बैंक र निजि क्षेत्रको ५०/५० प्रतिशत लगानी हुने यो योजनाको लागत करिव १४ करोड रूपैयाँ छ। यसमा कुहिने र नहुकिने फोहोर छुट्याउने योजना छ। यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको तानसेन नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताए। उनले फोहर स्थायी रूपमा तह लगाउन र त्यसबाट स्थानीयलाई समेत लाभ पुर्‍याउनेगरी काम भइरहेको बताए।  

घरबाटै फोहोरको वर्गीकरण गर्नुपर्ने  

फोहोर संकलनमा मात्रै केन्द्रीत हुदा लुम्बिनीका ठूला सहरमा फोहोरको विर्सजन चुनौतीपूर्ण बनेको बताउँछन्, वातावरणका जानकार युवराज कँडेल। उनका अनुसार फोहोर संकलनमा बढि केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नितिगत निर्णय नहुँदा बुटवल, भैरहवा जस्ता सहरमा समस्या देखिएको हो। उनले सहरको फोहोर नदी र जंगलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा समेत असर पारेको बताए। ‘नदी र जंगलको विचमा फोहोर फालेर यो समस्याको दिगो समाधान हुँदैन’ उनले भने, ‘जबसम्म उपभोक्तालाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण भइरहन्न्छ।’

नकुहिने खालको प्लाष्टिक र सिसा भएका वस्तुमा ‘प्रदुषण कर’ लगाउँदा त्यस्ता वस्तुको फोहर घट्ने कँडेलले बताए। ‘त्यस्ता कम्पनी वा उद्योगसँग स्थानीय पालिकाले प्रदुषण कर लिएर त्यसरी उठेको रकम फोहर सफा गर्नेलाई दियो भने त्यही खर्चमा नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर तह लाग्छ,’ उनले भने। उनका अनुसार स्थानीय सरकारले कुहिने र नकुहिने गरि छुट्याउने बानी उपभोक्तामा बसाल्न सके मात्रै पनि आधाभन्दा बढी फोहोर घरमै तह लाग्छ।  

अहिले केही नगरवासीले यसो गर्ने गरेका पनि छन्। बुटवलको कालिकानगरका रामबहादुर रानाले भान्साबाट निस्कने फोहोर कुहाएर मल बनाउने गरेका छन्। ‘तरकारी र फलफूलबाट निस्कने फोहोरलाई कुहाएर मल बनाउँछु, त्यही मल हालेर तरकारी फलाएको छु,’ रानाले भने। उनले फोहोरलाई घरमै सजिलै थन्क्याएका मात्रै छैनन् वर्षभरि तरकारी किन्ने पैसासमेत बचत गरेका छन्। ‘स्वास्थ्यलाई पनि फाइदा भयो, फोहोर के गर्ने भन्ने चिन्ता भएन,’ रानाले भने।  

बुटवलमा फोहोरबाट प्रांगारिक मल बनाएर कुहिने फोहोरको विर्सजन गर्ने नीतिसमेत लिएको थियो। तर, यसको पालना सबैले गर्न सकेनन्। घरको फोहोर घरमै तह लगाउन सके सहरको फोहोरको सकस कम हुने विज्ञ बताउँछन्।

प्रकाशित: २८ मंसिर २०७७ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App