भक्तपुरका केही किसानहरुले खोला किनारका नभई आफूहरु सुकुम्वासी हुन लागेको दुःखेसो पोखेका छन् । गुठीको जग्गामा मोहियानी हक कायम नहुँंदा आफूहरु जग्गा भइभइकन पनि सुकुम्वासी हुन लागेको उनीहरुको दुःखेसो हो ।
उनीहरुका अनुसार गुठी संस्थान संचालक समितिको बैठक नं. ४१५ मिति २०८२ फागुन १२ गते बसेको बैठकले गुठी जग्गामा बाटो कायम गर्ने सम्बन्धी कार्यविधि २०७३ को दफा ६ संशोधन गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई गुठी अधीनस्था जग्गा समेत पर्ने गरी जग्गा एकीकरण आयोजना सञ्चालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास समितिलगायत सरकारी निकायबाट सहमति माग भएमा जग्गा एकीकरण प्रक्रियामा योगदानवापत कट्टा हुने कुल गुठी जग्गाको कम्तीमा ६६ प्रतिशत क्षेत्रफल सोही आयोजनाभित्र विकसित घडेरीको रुपमा छुट्टै कित्ता कायम गरी गुठी तैनाथीमा दर्ता गर्ने गरी सहमति दिइनेछ ।
त्यसरी कायम गरिएको गुठी तैनाथीतर्फको दर्ता श्रेस्ता अद्यावधिक जारी सम्बन्धित आयोजनाले गुठी संस्थानलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउनु पर्नेछ भनी कायम गर्ने निर्णय गरेको छ ।
यस निर्णयले गुठी जग्गाका मोहीहरूको स्वामित्व पूर्णरुपमा उन्मुलन गरी गुठी संस्थानले मोहीहरूलाई जग्गाको स्वामित्व बेदखल गरेको छ । यसबाट नेपालको संबिधानले प्रदान गरेको मौलिक हकसमेत हनन हुने गई मोहीहरूलाई भूमिहिन बनाउने कार्य गरेको ती किसानको भनाई छ ।
भक्तपुर नगरपालिका अन्तर्गत व्यवस्थित आवास योजनाको लागि सञ्चालित देको–मिवा–ईटापाके आवास योजना अन्तर्गतका गुठी जग्गाका मोहीहरुले पुस्तौपुस्तादेखि नै जग्गा रहेका आफूहरु यही कारण सुकुम्वासी हुने क्रममा पुगेको बताएका हुन् । सो योजनामा आफनो ६ रोपनी दुई आना जग्गा गुठीका मोही विष्णुकुमार बासुकलाले पुस्तौपुस्तादेखि गुठी जग्गा गरिरहेका आफूजस्ता मोहीहरु अहिले जग्गाको हकबाट विमुख हुन लागेको दुःखेसो पोखे । यसकारण गुठीको जग्गामा मोहीयानी हक कायम गराउन उनी जस्ता दर्जनौ किसानको माग छ ।
पूर्वमा देकोचाबाट बौको जाने बाटो, पश्चिममा निकोसेरा जाने सडक, उत्तरमा खस्याङखुस्युङ खोला र दक्षिणमा नगरकोट जाने सडक बीचको चारकिल्ला भित्रको १६५४ रोपनी जग्गामा व्यवस्थित आवास योजना सञ्चालन गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले जग्गा विकास आयोजना सञ्चालन गरिरहेको छ । देको–मिवा–ईटापाके आवास योजनाले जग्गा धनी तथा मोहीहरूको जग्गा फिर्ताको लागि नक्सा प्रकाशित गरेको र हालसम्म ५२ प्रतिशत जग्गा धनीहरूलाई आवास योजनाले पुर्जासमेत फिर्ता भई कतिपय जग्गा धनीहरूले घरसमेत निर्माण गरिसकेको छ ।
उक्त प्रकाशित नक्सामा गुठीको नाममा रहेको जग्गाका मोही किसानहरूलाई पनि आवास आयोजना नीतिअनुसार नै जग्गा कटौती गरी जग्गा फिर्ता गरिएको भक्तपुर नगरपालिका वडा नं ६ का वडाअध्यक्ष हरिराम सुवालले जनाए । यस आवास क्षेत्रका गुठी जग्गा गरिरहने मोही किसानहरूलाई जग्गा फिर्ता नदिई आवास योजनाबाट नीति अनुसार कटौती गरिएको जग्गा गुठी संस्थानले नव्यहोर्ने र उक्त जग्गाको मूल्य मोही किसानलाई तिर्न वा आवास योजनाले व्यहोर्नको लागि पत्राचार गरिएकोले ती किसानहरु अहिले पीडित हुने अवस्थामा पुगेको वडा अध्यक्ष सुवालले जनाए ।
यस पत्रचारले मोही किसानहरूलाई गुठी संस्थान, भक्तपुरले मोही किसानहरूलाई जग्गा फिर्ता नदिई आवास योजनाबाट नीति अनुसार कटौती गरिएको जग्गा गुठी संस्थानले नव्यहोर्ने र उक्त जग्गाको मूल्य मोही किसानलाई तिर्न वा आवास योजनाले व्यहोर्नको लागि भन्दै पुर्जा फिर्ता गर्न सिफारिस नगरेको अवस्था रहेको उनले जनाए । उक्त कदमले मोही किसानहरूको सम्पत्ति सम्बन्धी अधिकार हनन हुन गएको उनले बताए ।
यही व्यहोरा सरकारलाई ध्यानाकर्षण गराउन मंगलबार पीडित किसानहरुसहित नेपाल क्रान्तिकारी किसान संघका पदाधिकारीसहितले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् उनीहरुले नेपाल सरकारको यस विषयमा ध्यानाकर्षण गराएका छन् । मोही किसानहरूलाई भूमिहिन हुने गरी दफा संशोधन गर्ने गुठी संस्थानको कार्यप्रति खेद व्यक्त गर्दै उनीहरुले बुझाएको ज्ञापनपत्रमा गुठी जग्गा गरिरहेका मोही किसानको मोही हक आधा कायम गरी आवास योजनाको नियमअनुसार अन्य जग्गा धनीसरह जग्गा कटौती गरी गुठी संस्थानले लालपूर्जा फिर्ताको बन्दोवस्त गर्नको लागि माग गरेको छ ।
जुनसुकै आवास आयोजना भनेको व्यवस्थित वसाईको लागि गरिने र गुठी जग्गा पनि यसबाट विमुख हुन नसक्ने हुँदा गुठीको जग्गामा पनि व्यवस्थित आवास योजना संचालन गर्न अनुमति दिई अन्य जग्गा धनीकै साविकमा गुठी जग्गामा पनि गुठी र मोहीको समानुपातिक रुपमा बराबर आयोजनाको नीति अनुसार जग्गा कटौती गरी पूर्जा फिर्ता गर्ने व्यवस्था गर्नको लागि आवश्यक पहल गरिदिन हुन किसानहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रकाशित: ५ जेष्ठ २०८३ १९:५३ मंगलबार





