२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

चोरी भएका ४० मोटरसाइकल तथा स्कुटर हस्तान्तरण

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४० वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार  २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बरामद गरिएका सवारी साधनहरू धनीलाई हस्तान्तरण गरेका थिए। ट्राफिक प्रहरी कार्यालयका अनुसार प्राप्त निवेदन तथा विभिन्न स्रोतबाट आएको सूचनाका आधारमा खोजी अभियान गरी सवारी साधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेको जनाएको छ।  

ती सवारी साधनहरू सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँ बसपार्क, जम्बुडाँडा, सातदोबाटो, काडाँघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध र जयबागेश्वरीलगायतका स्थानबाट बरामद गरिएको प्रहरीले जनाएको छ।   

कार्यालयका अनुसार आज हस्तान्तरण गरिएका ४० वटा सवारी साधनसहित चालु आर्थिक वर्षको साउन यता कुल ५०२ वटा चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिसकिएको छ। 

यस अवधिमा चोरीमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिइएको र चोरीका ३० वटा दुईपाङ्ग्रे सवारी साधनसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर तथा वृत्तमा पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० जेष्ठ २०८३ १८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App