२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानले कोरोना संक्रमितको उपचार गर्न धरौटी र शुल्क तोक्यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दररेट तोकेको छ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई भर्ना गरेर उपचार गर्नको लागि धरौटी रकम र शुल्क लिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका संक्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ। हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ। मध्यम लक्षण भएका विरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय दिनुपर्नेछ। यस्तै, गम्भीर लक्षण भएका विरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्नेछ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार यो निर्णय कार्तिक ९ गते आइतबारदेखि लागु हुनेछ। संक्रमित विरामी प्रतिष्ठानमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ। यस्तै, प्रतिष्ठानमा पिसिआर परीक्षणको लागि पनि २ हजार २ सय रुपैयाँ शुल्क लिने पनि निर्णय भएको छ। तर, आर्थिकरुपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने पनि प्रतिष्ठानले जनाएको छ।  

वीपीले पिसिआर स्वाब लिन मानेन

धरान उपमहानगरपालिकाले हिजो बुधबार ३९६ जनाको स्वाबको नमुना संकलन गरेको थियो। ती नमुनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा पुर्याए पनि धेरै भएको भन्दै फकाईदिएको छ।

दशैंको मुखमा काम गर्ने कर्मचारीहरु कम भएको भन्दै स्वाबको नमुना ल्याबले नलिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको  छ। प्रतिष्ठानले स्वाबको नमुना नलिए पछि उपमहानगरपालिकाले ती स्वाबलाई सुरक्षितसाथ राखेको जनाएको छ। महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो ४ बजेतिर स्वाब पुर्याइए पनि प्रतिष्ठानको ल्याबले लिन नमानेपछि फकाईएको हो। ‘मेयर, उपमेयर ज्युले पहल गर्नुभएको छ, आज ल्याबमा स्वाब परीक्षण हुन्छ होला,’मेहताले भने।

 

 

प्रकाशित: ६ कार्तिक २०७७ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App