नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको प्रतिक्रिया दिएको छ। पार्टी केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साँझ एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णयबाट कार्य तालिका तयार गरी महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने’ विज्ञप्तिमा भनिएको छ। ‘त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो छ प्रेस विज्ञप्ति


प्रकाशित: २३ पुस २०८२ १८:२२ बुधबार





