coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राति अबेर वार्ताटोली आमने–सामने, निष्कर्ष निस्किएन

अनशनको २७ औं दिन

चिकित्सा शिक्षामा सुधारका लागि १९औं पटक अनशन बसेका चिकित्सक गोविन्द केसीका माग सम्बोधनका लागि निकास खोज्न शुक्रबार राति दुवै पक्षका टोली शिक्षा मन्त्रालयमा वार्तामा बसेका छन् । यसअघि बिहीबार दुई चरणमा भएका औपचारिक वार्तामा निकास निस्किन नसकेपछि बृहत् गृहकार्यसहित शुक्रबार फेरि छलफलमा बस्ने सहमति भएको थियो । दिनभर आन्तरिक गृहकार्यमा जुटेको भनिएका दुवै टोली राति वार्तामा बसेका हुन् । वार्ता सकारात्मक ढंगले अघि बढेको बताइए पनि निष्कर्षमा भने पुगेन ।

विभिन्न माग राखेर केसी आमरण अनशन बसेको शुक्रबार २६ दिन पुगेको छ । अनशनका कारण उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । केसीका माग सम्बोधन र उनको जीवन रक्षा गर्न चारैतिरबाट दबाब परेपछि सरकारले अनशनको २४औं दिन बुधबार वार्ताटोली बनाएको थियो । सोही दिन केसी पक्षबाट पनि वार्ताटोली घोषणा गरिएको थियो ।  

केसीतर्फबाट वार्ता टोलीमा रहेका डा. लोचन कार्कीले माग सम्बोधनका लागि सहमतिमा पुग्ने प्रयास जारी रहेको जानकारी दिँदै केही नीतिगत र कानुनी विषयमा छलफल चलिरहेको बताए । स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठता मिचेर डिन नियुक्त गरिएको विषयमा के गर्ने भन्ने विषयमा सरकारी वार्ताटोली प्रस्ट हुन सकेको छैन । आइओएम लगायतमा कनिष्ठलाई हटाएर वरिष्ठलाई पदाधिकारी बनाउन सरकारी टोली सहमत भए सहमति टाढा नभएको स्रोतले बतायो । त्रिवि र यस मातहतका निकायमा पदाधिकारी नियुक्ति वरिष्ठताका आधारमा हुनुपर्ने केसीको यही मागमा सहमति जुटाउने विषयमा छलफल बढी केन्द्रित छ । 

‘आइओएमलगायतमा कनिष्ठलाई हटाएर वरिष्ठलाई पदाधिकारी बनाउन सरकारी टोली सहमत भए निकास टाढा छैन’  

केसीका विभिन्न मागमध्ये एउटा आइओएमको डिनमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै अन्य पदमा पनि वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप कानुनी व्यवस्था गर्नुपर्नेछ । यही मागका विषयमा कुरा अड्किएको सरकारी वार्ताटोलीका एक सदस्यले बताए । यस विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीसँग पनि छलफल गर्नुपर्ने तर उनीहरूले समय दिन नसक्दा टुंगोमा पुग्न नसकेको ती सदस्यले बताए । ती सदस्यका अनुसार प्रधानमन्त्रीले चाहे तत्काल सहमतिमा पुग्न सकिने अवस्था छ ।  

केसीको वार्ता टोलीका सदस्य डा. कार्कीले संस्थानमा डिन नियुक्तिको विषय र विश्वविद्यालयमा पदाधिकारी नियुक्ति मापदण्ड बनाउने विषय अलि पेचिलो बनेको बताए । यही विषयमा सरकारी पक्ष प्रस्ट हुन नसक्दा सहमतिमा पुग्न नसकेको देखिन्छ । केसीले यो माग पहिलो अनशनदेखि उठाउँदै आएका छन् ।  

विगतका सरकारले पटकपटक वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने सम्झौता गरे पनि ओली नेतृत्वको सरकारले त्यसलाई उल्लंघन गर्दै कनिष्ठ डा. दिव्यासिंह शाहलाई डिन बनाएको छ । विगतमा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने केसीको मागमा शाहको पनि समर्थन थियो ।  

केसीको संघर्षकै कारण वरिष्ठताका आधारमा संस्थानमा डिन नियुक्त गर्ने परिपाटी बसेको थियो तर अहिले प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा कनिष्ठ चिकित्सक शाहलाई डिन बनाइएको छ । शाह ओलीकी निजी चिकित्सक पनि हुन् ।  

त्यस्तै विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगले नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने केसीको मागमा सरकारी वार्ताटोलीबाट पोजिसन प्रस्ट नहुँदा वार्ता निष्कर्षमा पुग्न नसकेको वार्ता टोलीका सदस्यको भनाइ छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु-याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने मागमा पनि लगभग सहमति जुटिसकेको छ । त्यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति व्यवस्था गरी पठनपाठन सुरू गर्ने, प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने मागमा दुवै पक्ष सहमतजस्तै देखिएका छन् । चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने मागमा पनि सहमति जुट्ने अवस्था देखिएको छ । बयलपाटा अस्पताललाई सञ्चालन गरी निःशुल्क सेवा सुनिश्चित गर्ने माग पनि दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ ।

सरकारले विगतमा आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न आलटाल गरेको भन्दै केसी भदौ २९ देखि अनशनमा छन् । जुम्लाबाट अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । सरकारले अनशनको २४ दिनमा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गुणराज लोहनी र दिलीप शर्मा सदस्य रहेको टोली बनाएको हो । सोही दिन केसी पक्षबाट पनि वार्ता टोली बनाइएको हो । केसी पक्षको वार्ताटोली संयोजक डा. जीवन क्षेत्री छन् । उनको टोलीका सदस्यमा डा. कार्की, डा. अन्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश  अर्याल छन् ।

श्वासप्रश्वासमा बाधा  
अनशन लम्बिँदै गएपछि त्यसको असर डा. केसीको स्वास्थ्यमा परेको छ । उनलाई अहिले सास फेर्न समस्या पर्न थालेको छ । सहयोगी तोसिमा कार्कीका अनुसार सास फर्न समस्या भएपछि केसीलाई अक्सिजनको मात्रा बढाउनुपरेको छ । अक्सिजनको सपोर्टमा उनको उपचार भइरहेको कार्कीको भनाइ छ । उनको रक्तचापसमेत निकै घटेको छ । जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कन बढ्नेलगायतका समस्या पनि उनमा देखिएका छन् । डब्लुबिसी, सुगर र पोटासियमलगायतका तत्वको मात्रा पनि घट्दै गएको छ । उनलाई कुनै बेला पनि भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सक बताउँछन् ।

प्रकाशित: २४ आश्विन २०७७ ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App