२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थुनुवा कक्षमै युवकको रहस्यमय मृत्यु

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का १९ बर्षिय रोशन विक पसलबाट मोवाइल चोरीको आरोपमा भदौ २१ गते प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा उनलाई राखियो। शुक्रवार बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको रहस्यमय मृत्यु भयो। बिहान बाथरुमामा आफूले लगाएको सर्ट फुकालेर झुण्डिएर ती युवकको ज्यान गएको प्रहरीको भनाइ छ। 

तर युवकको शव हेर्दा नाकबाट रगत बगेको, निधारमा, आखाँमा र मुखमा पनि चोट लागेकोले आफन्तले हत्या भएको आरोप लगाएका छन्। बाथरुममा झुण्डिएको खबर पाउने बित्तिकै प्रहरीले उनलाई झुण्डिएको अवस्थावाट निकालेर अस्पताल लगेको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमसेर जवराले बताए। ‘झुण्डिएको अवस्थामा अलि हल्लिएको देखेर बचाउन सकिन्छ कि भनेर उद्धार गरि हस्पिटल लग्यौं’उनले भने,‘तस्वीर खिच्न पनि ध्यान भएन।’  

मृतकको नाकबाट रगत बगेको, निधारमा चोट लागेको, मुखमा चोट लागेको र आखाँ मुनी चोट लागेको देखिन्छ।

मृतकका आफन्तले भने जिउभरी निलडाम भएकाले युवकको हत्या भएको बताएका छन्।‘ छोराको टाउकोमा, मुखमा र शरिरभरी चोटपटक भएकाले कुटपिट गरेर हत्या गरिएको हो’उनका वुवा टेकबहादुर ले भने।

झुण्डिने वेला छटपटाएर भित्तामा टाउको लागेर चोटपटक लागेको हुन सक्ने प्रहरीको दावी छ। तर नाकवाट र मुखवाट रगत कसरी आयो भन्ने कुरा भने अनुत्तरित नै छ। पोष्टमार्टम भएपनि पोष्टमार्टमको रिपोट अझै आईसकेको छैन। मृतकका आफन्तले हत्या भन्दै शुक्रवार प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए।  

प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिती गठन गरेपछि शनिवार मृतकको दाहासंस्कार गरिएको छ। मृतकसंगै पसलबाट मोवाइल चोरी गरेको आरोपमा संगै पक्राउ परेका उनका साथी रोहित पार्कीले बाथरुममा गएर पछि झुण्डिएको भेट्टिएको बयान दिएका छन्।  

छानबिनवाट घटनाको सत्यतथ्य बाहिर आउला तर जनताको जिउधनको सुरक्षाको जिम्मा लिएको प्रहरीकै नियन्त्रणमा रहेका वेला युवकको ज्यान जानुले प्रहरी हिरासतको सुरक्षा बन्दोवस्त प्रति प्रश्न उव्जेको छ। यस अघि गत साउन २९ गते धनगढी उपमहानगरपालिका १४ फुलवारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। उक्त घटनाको पनि सत्यतथ्य अझै सार्वजनिक भएको छैन। प्रहरीले छेउमा व्लेट पनि फेला परेकोले व्लेटले घाटी आफै रेटेर आत्महत्या गरेको दावी गरेको थियो।एकपछि अर्को यि घटनाले प्रहरी हिरासत नै असुरक्षित देखिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख झंकर रावल प्रहरीको नियन्त्रणमा रहेको व्यक्ति सुरक्षित हुनुपर्नेमा हिरासतमै मृत्युहुने अवस्था आउनु गंभिर त्रुटि भएको बताउछन्।‘प्रहरीको नियन्त्रणमा भएपछि सुरक्षित रहन्छ भन्ने हो तर प्रहरीकै हिरासतमा मृत्यु हुनाले प्रहरी हिरासत नै असुरक्षित देखिएका छन्’ उनले भने,‘राष्ट्रिय मानव अधिकार आयोगले पटक पटक हिरासतको सुरक्षाका लागी नीतिगत रुपमै सुधार गर्न भनेको छ।’ 

क्षमता भन्दा बढी मान्छे कोचाकोच राख्ने, सवै प्रकारका अभियुक्तलाई एउटैमा राख्ने, अन्य सुरक्षाबन्दोवस्त ध्यान नदिने जस्ता कुराले हिरासत र कारागार समेत असुरक्षित हुने गरेकोमा नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ। तर बिक मृत्युप्रकरणको घटनाको वारेमा हत्या वा आत्महत्या के भनेर अध्ययन गरेपछि यर्थात कुरा भन्न सकिने बताए। एसपि जवराले प्रहरी हिरासतमा आत्महत्या भएको घटनालाई गंभिर रुपमा लिएर हिरासतको सुरक्षाका बारेमा प्रहरीले ध्यान दिएको बताए। ‘दुई दुई मृत्युका घटना हिरासतमा भएकोले हामीले यो नदोहोरिदिन गंभिर भएका छौं’उनले भने।

एसपीको संयोजकत्वमा छानबिन समिति

हिरासतमा युवकको मृत्यु भएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका प्रहरी उपरीक्षक राजिव वस्नेतको संयोजकत्वमा चार सदस्यि छानबिन समिति गठन गरेको हो। समितिलाई ७ दिनको म्याद दिइएको छ।  

मानव अधिकार आयोगद्वारा पनि घटनाको अध्ययन

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले पनि हिरासतमा युवकको रहस्यमय मृत्यु भएको घटनाको अध्ययन थालेको छ। शनिवार आयोगका प्रदेश प्रमुख झंकर रावलको नेतृत्वमा एक टोली प्रहरी कार्यालयको हिरासतमा गएर अध्ययन अनुगमन गरेको थियो। घटनाको बारेमा पोष्टमार्टम रिपोटसहितको जानकारी गराउन जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आयोगले पत्र समेत दिएको छ। यो घटनाको सत्य तथ्य छानबिन पछि थाहा हुने आयोग प्रमुख रावलले बताए। ‘प्रहरीको हिरासत नै असुरक्षित रहेको स्पष्ट भैसक्यो, नितीगत रुपमा हिरासतको सुरक्षा बन्दोवस्त राम्रो बनाउन सुधार गरिनुपर्छ’उनले भने,‘युवकको मृत्युको घटनाको वास्तविकता छानबिनपछि मात्र भन्न सकिन्छ।’

प्रकाशित: २७ भाद्र २०७७ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App