१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

जुम्लामा नेकपाको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टी नेतृत्वले यस कार्यक्रमलाई केवल निर्वाचन तयारी मात्र नभई गणतन्त्रको रक्षा र राजनीतिक दिशा निर्धारणको मोर्चा रूपमा व्याख्या गर्दै संगठनात्मक एकता, वैचारिक स्पष्टता र आक्रामक परिचालनमा जोड दिएको छ।

कार्यक्रममा केन्द्रीय सदस्य नवराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै देश विशेष राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे। उनले लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित गणतन्त्र अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष चुनौतीको घेरामा रहेको बताए। उनले निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई व्यवस्था जोगाउने निर्णायक लडाइँको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर मैदानमा उत्रन आह्वान गरे।

केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिकी संयोजक गोमा गौतम कुँवरले पार्टीभित्र अनुशासन, आत्मीयता र सहकार्य कमजोर भए विजय असम्भव हुने स्पष्ट गरिन्। उनले केन्द्रदेखि वडा तहसम्म जिम्मेवारी स्पष्ट गरी कार्यकर्ता परिचालन तीव्र बनाउन निर्देशन दिँदै कुनै पनि बहानामा संगठनात्मक ढिलासुस्ती स्वीकार्य नहुने चेतावनीसमेत दिइन्।

समानुपातिक उम्मेदवार तिर्थबहादुर बुढाले प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीलाई विधिसम्मत रूपमा सिफारिस गरिएको जानकारी गराए। उनले पार्टी जनताको भएको र जनताकै भरोसामा उभिएको शक्ति भएको उल्लेख गर्दै विभाजन र भ्रमको राजनीतिलाई परास्त गर्न एकढिक्का हुन आग्रह गरे।

प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीले राजनीतिक जनआन्दोलनपछि सबै दल निर्वाचनको मैदानमा उत्रिएको स्मरण गराउँदै लोकतान्त्रिक प्रतिस्पर्धा निर्णायक मोडमा पुगेको बताए। उनले आफ्नो पार्टी एकताबद्ध शक्ति निर्माणमा केन्द्रित रहेको र अन्य दल आन्तरिक द्वन्द्व र अस्थिरतामा अल्झिएको दाबी गरे।

भण्डारीले जुम्लाबाट तिर्थबहादुर बुढा र आफू निर्वाचन मैदानमा रहेको उल्लेख गर्दै अन्य दलका उम्मेदवारलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका ठोस एजेन्डासहित बहसमा आउन चुनौती दिए। उनले जनतालाई विजयी गराएर संघदेखि पालिका र वडासम्म विकासको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीलाई दिनुपर्ने अपिल गरे।

आफ्ना कामलाई ओझेलमा पार्न योजनाबद्ध रूपमा अफवाह फैलाइएको आरोप लगाउँदै भण्डारीले भने, “म काम गर्ने व्यक्ति हुँ, बोलेर मात्र बस्ने होइन। झुटा प्रचारले हाम्रो यात्रा रोक्न सक्दैन।” उनले निर्वाचनलाई सत्ता प्राप्तिको मात्र लडाइँ नभई विचार, विश्वसनीयता र जनविश्वासको संघर्षको रूपमा व्याख्या गर्दै सबै असन्तुष्टिलाई थाती राखेर चुनावी अभियानमा होमिन आग्रह गरे।

भण्डारीका अनुसार विगतमा जुम्लालाई अशिक्षित र गरिब जिल्लाको रूपमा चित्रण गरिँदै आएको थियो। तर अहिले जुम्ला चिकित्सक उत्पादन गर्ने जिल्लाको रूपमा परिचित हुँदै गएको र मातृमृत्यु दर शून्यमा झरेको उनले बताए। आगामी दिनमा सिंजालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्दै जुम्लालाई भाषा, इतिहास र सभ्यताको “जननी जिल्ला” का रूपमा स्थापित गर्ने दीर्घकालीन योजना रहेको जानकारी उनले दिए।

कार्यक्रममा केन्द्रीय सदस्य राजबहादुर खत्रीले फागुन २१ पछि विजय जुलुस निकाल्ने तयारीमा जुट्न सबै तह र तप्काका नेता–कार्यकर्तालाई निर्देशन दिए। साथै, नेकपा जुम्लाको निर्वाचन समितिले भोलि पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ।

प्रकाशित: १७ माघ २०८२ १८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App