२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

अपर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधिन अपर मेवा जलविद्युत परियोजनाको सुरुङ मार्ग खन्ने काम सुरु गरिएको छ । प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,मिक्वाखोला वडा नं ४ र ५ का जनप्रतिनिधि सहितको उपस्थितिमा सुरुङ निर्माण कार्य सुरु भएको हो । ३१.९२ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टीलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण गर्न सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिए । उनका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ भने अधिकांश संरचना भूमिगत(अण्डर ग्राउण्ड)हुनेछन् । सुरुङ मार्ग एक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।  

आयोजनाको प्रवद्र्धक सौर्य होल्डिङ कम्पनी प्रालि रहेको छ । मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवा र वडा नं ५ पापुङ आयोजनाको मुख्य प्रभाव क्षेत्रमा पर्नेछन् । आयोजनाको कुल लागत करिव ६ अर्ब ३७ करोड रुपैयाँ रहने आयोजनाका जनसम्पर्क अधिकृत गौतमले जानकारी दिए ।  

आयोजनाका लागि ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको वित्तीय साझेदारी संस्थाले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्नेछन् भने र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्ने छ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित: १७ माघ २०८२ १८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App