नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मुम्बई एमसीए प्रेसिडेन्ट–११ लाई पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा नेपालले मुम्बईलाई ४८ रनले हराउँदै लगातार दोस्रो अभ्यास खेलमा जित हात पारेको हो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।
मुम्बई एमसीए प्रेसिडेन्ट–११ का लागि ओपनर ईशन मूलचन्दानीले २६ बलमा ४७ रनको योगदान दिए। नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए।
यसअघि ब्रेबोर्न क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।
नेपालका लागि आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ४२ बलमा ६६ रन बनाएर अविजित रहे।
यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले पराजित गरेको थियो। अब यी दुई टोलीबीच अर्को एक अभ्यास खेल हुनेछ।
त्यसपछि नेपाली टोलीले क्यानडा र यूएईसँग पनि समान रूपमा एक–एक अभ्यास खेल खेल्नेछ। विश्वकपको तयारीका लागि नेपालले यी अभ्यास खेलहरू खेलेको हो।
प्रकाशित: १७ माघ २०८२ १८:२४ शनिबार





