१३ मंसिर २०७७ शनिबार
समाज

ठेलामा तरकारी बेच्ने भाइरल सुभद्राको पीडा

तस्वीर साभारः अन्नपूर्ण अनलाइन

निषेधाज्ञाबीच आइतबार ठेलागाडामा तरकारी बिक्री गर्ने सुभद्रा (सरस्वती) मैनालीले रुँदै प्रहरीप्रति आक्रोशित अभिव्यक्ति दिइरहेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। ३० सेकेन्डको भिडियोमा सुभद्राले महिला इन्स्पेक्टरले तरकारी तौलिने गरेको तराजु र ढक लिएर गएको गुनासो गरिरहेकी छन्। ‘दुःख नपाएको भए गाडा डो¥याएर को हिँड्थ्यो ?’ भक्कानिँदै उनले प्रश्न गरेकी छन्, ‘बिरामी होऔंला भन्ने हामीलाई डर हुन्छ। बसेर खान कसलाई मन हुँदैन ? दिनदिनै ब्रुफिन र निम्स खाएर हिँडिरहेकी छु।’

शुक्रबार सुमिन ९६० एकाउन्टबाट टिकटकमा अपलोड गरिएको सो भिडियोको क्याप्सनमा लेखिएको छ, ‘पुलिसको दमन हजुरको बोलीले मात्र होइन, हजुरको त्यो आँखाले पनि बुझिन्छ। मैले मानवता नभएर मान्छे देखें।’ सो भिडियोलाई लक्ष्मण सापकोटाले आफ्नो ट्विटर अकाउन्टबाट हृदयविदारक दृश्य भन्ने लेखेर रिट्विट गर्दै सेयर गरे। आइतबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भिडियो सेयर गर्दै ट्विट गरे, ‘पचासौं लाख अनौपचारिक र स्वरोजगार मजदुरको जीवनयापनको वैकल्पिक व्यवस्था नगरी लकडाउन र कफ्र्यु मात्र लगाएर राज्यको जिम्मेवारी पूरा हुन्छ ? कि तिनलाई स्थानीय तहमार्फत नगद र जिन्सी अनुदानको व्यवस्था हुनुप-यो कि सुरक्षा मापदण्ड कायम गरेर व्यवसाय गर्न दिनुप¥यो। यी श्रमिक महिलाको आँसुले पिर्ला !’

त्यस्तै भाइरोलोजिस्ट डा. लुना भट्टले रिट्विट गर्दै लेखिन्, ‘यदि राज्य छ भने यी गरी खाने तप्काका मानिसको पीडा बुझ्न को आउने ? कसले मद्दत गर्ने ? त्यो सांसद्को कोषको रकमले बनाएको बाटोमा अलकत्रा थप्ने मात्र हो ? प्रधानमन्त्री स्वरोजगारको रकम केको लागि हो ? यो आँसुले पिरोल्छ, केही त राहत हुनुपर्ने होइन र ?’ ट्विटरमा मात्र सो भिडियोलाई ९२ हजारभन्दा बढीले हेरिसकेका छन्।

टिकटकमा सो भिडियोलाई ६४ हजारले हेरिसकेका छन्। भिडियो हेरेपछि देशविदेशमा बस्नेले सामाजिक सञ्जालमार्फत सुभद्रालाई आर्थिक सहयोग गर्न चाहेको हुँदा सम्पर्क नम्बर र ठेगाना मागिरहेका छन्। अभिनेत्री तथा निर्माता श्वेता खड्काले आधिकारिक फेसबुक पेजमा भिडियो सेयर गर्दै लेखिन्, ‘जिन्दगीको हरेक गोरेटोमा बाँच्न सिक्नुपर्छ। अनि मात्र थाहा हुन्छ, एउटा जीवन बिताउनलाई कत्ति संघर्ष गर्नुपर्दो रहेछ भन्ने कुरा।’

भक्कानिएकी सुभद्राको भोगाइ बुझ्न चैत २७ मा पुग्नुपर्ने हुन्छ। साँझपख ठेलागाडामा साग राखेर गोपीकृष्ण हलतर्फ लागेकी थिइन्। पाठेघर र मिर्गौलाको समस्याले उनलाई ठेलागाडा डो¥याउँदा पीडा हुने गरेको छ। तरकारी बिक्री गर्न सुरु गर्न लाग्दा प्रहरीको भ्यानबाट एक महिला प्रहरी आएर ठेलागाडा हुत्याइदिइन्। अलि पर पुगेर ठेलागाडा भाँचियो र तरकारी सडकमा पोखियो। ‘ढक र तराजु लगेर भ्यानमा हालेपछि असह्य भयो,’ सो घटनाको स्मरण गर्दै उनले भनिन्, ‘भर्खर पाठेघरको उपचार गरेर अस्पतालबाट फर्किएको हुँदा चर्को स्वरमा बोलिरहँदा रगत निस्कियो र पीडाले चुहियो । झाेंकमा केके बोलियो थाहै भएन। तर दुःख गरिरहेका हामीजस्ताको सामान लग्नुलाई प्रहरी आफ्नो बहादुरी ठान्छ भने त्यो भ्रम हो।’

अन्नपूर्ण अनलाइन नामक युट्युब चलाइरहेका सुबोध पोखरेल काम विशेषले चाबहिलको गोपीकृष्ण हलतिर थिए। सुभद्रा कराएको सुनेर उनले त्यहाँ पुगी कुराकानी गरेको भिडियो युट्युबमा अपलोड गरिहाले। ‘ड्युटीमा रहेकी महिला प्रहरी साँझतिर गस्तीमा आएर उहाँको तरकारी पोखिदिएर अमानवीय व्यवहार गरेको सुनाउनुभएपछि अन्तवार्ता गरेको भिडियो युट्युबमा अपलोड गरेको थिएँ,’ पोखरेलले भने।

काभ्रे नमोबुद्ध–६ कानपुरकी ३९ वर्षीया सुभद्रा सात वर्षदेखि चाबहिलस्थित गोपीकृष्ण हल आसपास ठेलागाडामा तरकारी बेच्छिन् । चाबहिलस्थित चलचित्र विकास बोर्डनजिक एक गल्लीभित्र साँघुरो कोठामा मासिक ७ हजार रुपैयाँ तिरेर उनको परिवार बस्छ । ठेलागाडामा तरकारी बिक्री गरेकै भरमा परिवारको बिहान र बेलुकाको छाक टार्न, कोठाभाडा र औषधि खर्च जुटाइरहेकी छन्। उनी ठेलागाडामा तरकारी राखेर टोलटोल पुग्छिन्। उनका पति शम्भु मैनाली मिनी भ्यानमा तरकारी बिक्री गर्छन्।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गत चैत ११ देखि लकडाउन गरेपछि उनी केही दिन डराएर कोठामा परिवारसँगै बसिन्। शम्भुको स्नायु प्रणाली कमजोर छ र एउटा खुट्टामा स्टिल राखिएको हुँदा पीडा कम गर्न उनले नियमित औषधि खानुपर्छ। सुस्तमनस्थितिकी छोरी र सानो छोरो कोठामा एक्लै हुन्छन्। सुभद्रालाई सानो पाठेघर, स्तन, मिर्गौला र नसासम्बन्धी समस्या छ। ब्रुफिन, निम्सजस्ता औषधि पीडा कम गर्न नियमित खान्छिन्।

‘नियमित काम गर्न सकिएको अवस्थामा परिवार पाल्न समस्या हुँदैन,’ उनले भनिन्, ‘कोरोनाका कारण मानिसहरू त्रसित छन्। मर्छु भन्ने डर लागे पनि श्रीमान्सहित मेरो औषधि र छाक टार्न अर्को विकल्प छैन। दुःखसुख गरेर तरकारी बिक्री गरेर खान पुगिरहेको थियो। महामारीपछि भाइरसले भन्दा भोकले मरिन्छ कि भन्ने लाग्ने रहेछ।’

पुख्र्यौली थलो काभ्रेमा शम्भुको जग्गाजमिन नभएको होइन। २०५३ सालमा काभ्रेको कात्तिके देउरालीमा भएको सवारी दुर्घटनामा परेर उनका दुइटा करङ भाँचिए। जोडेको सम्पत्ति तीन महिनाभन्दा बढी शिक्षण अस्पताल बस्दा सकियो। उनी काभ्रे फर्किए। फेरि काठमाडौं फर्किएर रामहिटीस्थित कैलाशबोधी स्कुलमा गाडी चलाए। केही समय पूर्वमन्त्री रामकृष्ण ताम्राकारको गाडीसमेत चलाएका थिए। ‘सुरुवातमा पशुपति क्षेत्रमा मकै पोलेर बेच्न थाल्यौं,’ शम्भुले स्मरण गरे, ‘बिहान ३ बजे उठेर कालीपाटी पुगेर गोपीकृष्ण वरपरका पसलेहरूको तरकारी ल्याइदिएपछि ठेक्कामा लिएको बारीबाट तरकारी ल्याएर बेच्ने गर्छु। 

भ्यान किनेको ऋण सकिएको छैन।’ सुभद्रा सबेरै पतिसँगै मूलपानी पुगेर तरकारी ल्याई बिक्री गर्छिन्। सुभद्रा एक प्रतिनिधि पात्र मात्र हुन्। पहिले लकडाउन र अहिले निषेधाज्ञाका कारण धेरैलाई छाक टार्नै समस्या भएको छ। अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को अध्ययनअनुसार कोरोनाका कारण २ अर्ब श्रमिकले प्रत्यक्ष रोजगारी गुमाएका हुन्। नेपालमा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा कार्यरत ३० देखि ३५ लाख श्रमजीवीले कोरोनाकै कारण रोजगारी गुमाएको सरकारी अनुमान छ। 

पाँच महिनायता आर्थिक गतिविधि ठप्प छ। कोरोनाका कारण २२ प्रतिशतले प्रत्यक्ष रोजगारी गुमाएको नेपाल राष्ट्र बैंकको कोरोनासम्बन्धी अध्ययनमा उल्लेख छ। राष्ट्रिय योजना आयोगले गरिरहेको एक अध्ययनमा आन्तरिक श्रम बजारमा कार्यरत २१ लाख श्रमिक कोरोना भाइरसका कारण बेरोजगार हुने आधार औंल्याएको छ।

प्रकाशित: २३ भाद्र २०७७ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App