खोटाङको सदरमुकाम दिक्तेलमा बिहीबारदेखि ‘वृहद् निःशुल्क स्वास्थ्य शिविर’ सुरु भएको छ। बजार क्षेत्रसहित आसपासका स्थानीयको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले आयोजित दुईदिने शिविर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र काठमाडौंस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।
गरिमा विकास बैंकको समेत सहकार्य रहेको उक्त शिविरबाट १ हजार ५ सयभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। विभिन्न रोगबाट पीडित स्थानीयलाई विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए।
उनका अनुसार दुर्गम पहाडी भूगोल र स्वास्थ्य संस्थाको पहुँच सीमित हुँदा धेरै नागरिक आवश्यक स्वास्थ्य सेवा पाउनबाट वञ्चित भइरहेका छन्। यस्तो अवस्थामा केही राहत पुर्याउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो। स्थानीयलाई आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन यस्तो पहल गरिएको उनले उल्लेख गरे।
शिविरमा एक्स–रे, प्रयोगशाला परीक्षण, मुटुको इको, कार्डियोलगायत सेवा उपलब्ध छन्। साथै, सामान्य स्वास्थ्य जाँच, जनरल सर्जरी, महिला तथा स्त्रीरोग, क्यान्सरको प्रारम्भिक परीक्षण, हाडजोर्नी, दन्त, मानसिक स्वास्थ्य तथा छाला रोगसम्बन्धी विशेषज्ञ सेवा पनि प्रदान गरिँदैछ।
ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा सञ्चालन भइरहेको शिविरमा २० जना चिकित्सकको टोली दिक्तेल पुगेको जनाइएको छ।
शिविरमा आएका नागरिकलाई नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा कर्मचारीको सहकार्यमा परीक्षण तथा उपचार सेवा प्रदान भइरहेको छ। सबै सेवा निःशुल्क उपलब्ध गराउने र १ हजार ५ सयभन्दा बढीलाई सेवा दिने लक्ष्य राखिएको नगर प्रमुख भट्टराईले जानकारी दिए।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले शिविरको उद्घाटन गर्दै स्थानीय नागरिकको स्वास्थ्य सुविधाका लागि यस्तो पहल सराहनीय रहेको बताए। गाउँघरमै विशेषज्ञ सेवा उपलब्ध गराउन सकेकोमा नगरपालिका र सहकार्य गर्ने संस्थाहरूप्रति उनले धन्यवाद व्यक्त गरे।
प्रकाशित: ५ चैत्र २०८२ २०:१६ बिहीबार





