गत विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको नःटोलमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राय परेका ६ जनालाई कोरोना पुष्टि भएको छ।
उनीहरुलाई प्रहरीले हिरासतमा लिएपछि शुक्रबार र शनिबार पिसिआर परीक्षण गराएको थियो। पक्राउ परेका १६ जनाको शुक्रबार र शनिबार पिसिआर गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी सन्तोष तामाङले बताए। उनका अनुसार १६ जनाको पिसिआर रिपोर्ट आउँदा ६ जनाको पोजेटिभ रिर्पोट आएको हो। ‘पक्राउ परेकालाई मुद्दा अगाडि बढाउनको लागि अदालत लैजानुअघि स्वास्थ्य परीक्षण गनुपर्ने थियो, सोही क्रममा पिसिआर गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो,’ डिएसपी तामाङले भने।
त्यस्तै, पुल्चोकको भीड नियन्त्रणमा बिहिबार महानगरीय प्रहरी वृत्त सातदोबाटाबाट खटिएकामध्ये प्रहरी निरीक्षकसहित १८ प्रहरीलाई पनि कोरोना देखिएको थियो। ट्राफिक प्रहरी कमल घिमिरेलाई निर्घात कुट्ने र झडपमा संलग्न भएका १९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमध्ये पोजेटिभ देखिएका ६ जनालाई हाजिरी जमानीमा छाडिएको छ। अन्य व्यक्तिको रिहाईका लागि ललितपुरका स्थानीयले माग गरेका छन्। कुटपीटबाट घाइते भएका टाफिक प्रहरी कमल घिमिरे उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रकाशित: २२ भाद्र २०७७ १०:३२ सोमबार