मोरङमा सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ। बुधबारदेखि जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिएको हो।
सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिए पनि सर्वसाधारण जोरविजोर प्रणालीबारे बेखवर छन्। जोरविजोर प्रणालीबारे आफूहरू अनविज्ञ भएको विराटनगरका स्थानीय बताउँछन्। विराटनगर –५ का ज्ञानमणि नेपालले आफूलाई जोरविजोर प्रणालीबारे जानकारी नै नभएको बताए। विराटनगर स्थित घाँसचोकमा ट्राफिक प्रहरीले बाइक रोकेर साइड लगाएर सोधपुछ गरेपछि मात्रै जोरविजोर प्रणाली लागू भएको जानकारी आफूले पाएको नेपालले बताए। ‘४ बजेसम्म निषेधाज्ञा खुलेको भनेर गाडि लिएर हिंडेको ट्राफिकले रोक्यो’ उनले भने, ‘जोरविजोर प्रणाली लागू भएको पत्तै भएन।’
नेपाल मात्रै हैन जोरविजोर प्रणालीबारे जानकारी नै नभएको विराटनगर–४का लीला भण्डारीले बताउँछन्। भण्डारीले जोरविजोर प्रणाली लागू भएको बारे आफूले कतैबाट पनि जानकारी नपाएको बताए। दैनिक काममा जानु पर्नेहरूलाई जोरविजोर प्रणालीले अफ्ठ्यारोमा पार्ने भण्डारीको गुनासो छ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पौद्दारले जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै सूचना प्रकाशित गरेर जोरविजोर प्रणालीबारे जानकारी दिइसकेको बताए। पोद्दारले विभिन्न सञ्चार माध्यममार्फत पनि जानकारी गराइएको दाबी गरे। जोरविजोर प्रणाली लागू गरिएको पहिलो दिन भएकाले बुधबार जोर नम्बर प्लेटका सावरी साधन चलाउनेहरूलाई प्रणालीबारे जानकारी गराएर छाडिएको पोद्दारले बताए।
बिहीबारदेखि भने अटेर गरी जोरविजोर प्रणाली विपरित सवारी साधन सञ्चालन गरे कार्वाही गरिने पौद्दारले स्पष्ट पारे। उनले जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना विपरित सावारी साधन चलाएको पाइए दिनभरी सवारी साधन नियन्त्रणमा राखिने बताए।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार भदौ २३ गतेसम्म निषेधाज्ञा खुकुलो पार्दै स्वास्थ्यको मापदण्ड अपनाएर दिउँसो ४ बजेसम्म बजार पसल खुल्ला गर्ने र सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने सूचना सार्वजनिक गरेको थियो।
प्रकाशित: १७ भाद्र २०७७ १२:०१ बुधबार





