२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

खेलाडीको हत्यामा संलग्न पाँच युवा ११ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाँच अभियुक्त ११ वर्षपछि पक्राउ गरेको छ। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट (साविकको वडा नं ३ चिउरीबोट) भन्ने स्थानमा २०६६ साल फागुन ११ गते महाशिवरात्रीको अवसरमा दार्जिङखोला युवा क्लव ओखरबोटले आयोजना गरेको भलिबल खेलमा हारेपछि एक युवकको हत्या गरी फरार भएकालाई प्रहरीले पोखराबाट एकसाथ पक्राउ गरेको हो।  

छिमेकी जिल्ला बागलुङको तमानखोला गाउँपालिकाको साविक तमान गाविस ८ का २१ वर्षीय नारायण छन्त्यालको हत्या गरी फरार भएका ओखरबोटका बलमान घर्ती, जिवन घर्तीमगर, दुर्गाबहादुर घर्ती, दलप्रसाद पुन र छिमेक्री रुमका तिर्थेन्द्र घर्तीमगरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। ‘पाँचजनालाई एकसाथ पोखराबाट नियन्त्रणमा लिइएको छ,‘लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिन सफल भयौं’ प्रनाउ कुँवरले भने। उनले फरार प्रतिवादी पक्राउ अभियानमा हालसम्मकै ठूलो सफलता भएको उनले बताए।  

तत्कालिन समयमा छिमेकी तमानखोलाबाट आएको टोलीमा संलग्न छन्त्यालको टोलीले खेल जितेको भन्दै स्थानीय युवाहरुले आक्रमण गरेका थिए। भलिबल टोलीलाई आक्रमण गरेका युवाहरु २८ देखि ३३ वर्ष उमेर समूहका छन्। म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला सिमाना पर्छ। तमानखोलाका स्थानीय आफ्नै सदरमुकाम बागलुङमा जान मालिका–४ ओखरबोटबाट दरबाङ, बेनी हुँदै आवतजावत गर्छन्।  

हालसम्म प्रहरीले १९ जना फरार पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वय गर्दै आइरहेको छ। जन्मकैदको सजाय तोकिएका पाँचै जनालाई जिल्ला अदालतमा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि म्याग्दी कारागार कार्यालयमा पठाइएको छ।

प्रकाशित: १७ भाद्र २०७७ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App