२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पछिल्ला घटनामा कसरी काम गर्दैछ रौतहट प्रहरी ?

रौतहटमा एकपछि अर्को हत्या हुँदै गएपछि त्रासको वातावरण बनेको छ। सर्वसाधारणदेखि बुद्धिजीविसम्मले रौतहटको सुरक्षामाथि प्रश्न उठाउन थालेका छन्। एकपछि अर्को हत्याको खबर आएपछि सर्वसाधारणमा डर र त्रास देखिनु स्वभाविक भएको जिल्लाबासीको बुझाइ छ।  

प्रहरीमाथि प्रश्न नउठोस् पनि किन? एउटा हत्याको रहस्य नसुल्झिँदै अर्को हत्या भएको छ। शान्ति सुरक्षा कायम गर्नु पनि प्रहरीकै मुख्य जिम्मेवारी हो। जतिसुकै डर र त्रास भए पनि सुरक्षाको अभिभावक प्रहरी नै भएकोले प्रहरीमाथि आक्रोशित हुनु र प्रहरीसितै सुरक्षाको आशा गर्नु दुवै स्वभाविक भएको नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाको भनाइ छ।  

रौतहट प्रहरीमाथि शान्ति सुरक्षा कायम गर्न नसकेको र अनुसन्धान नै निष्पक्ष रुपमा गर्न नसकेको आरोपबीच  प्रहरीले विस्तारै अनुसन्धानमा सफलता प्राप्त गर्दै गएको देखिएको छ। दुई हप्ताभित्रै भएको चार वटा हत्या काण्डमध्ये प्रहरी अनुसन्धान विस्तारै सबै हत्या काण्डमा सफलता पाउदै गएको पाइएको छ।

गत साउन ३१ गते राति गरुडा ८ जिंगडियामा निरन्जन रामको हत्या भएको तीन दिनपछि मुख्य आरोपितलाई पक्राउ गरिसकेको छ। पक्राउ परेकामध्ये एक जनाले आफूले हत्या गरेको स्वीकार गरिसकेका छन्। हत्याको योजना बनाउनेलाई प्रहरीले पक्राउ नगरि उन्मुक्ति दिएको र अन्य चार जना निर्दोषलाई पनि पक्राउ गरेको भनेर दलितहरुले सुरु गरेको आन्दोलन विजय रामको प्रहरी हिरासतमै अत्यधिक कुटाइको कारण उपचारको क्रममा मृत्यु भएपछि दलित आन्दोलन चर्किएको हो।

निरन्जन हत्याका मुख्य आरोपित पक्राउ परिसकेको र अपराध स्वीकार गरिसकेकोले आन्दोलनकारीको माग राजनैतिक तहबाट पूरा हुने देखिएकोले त्यस हत्या काण्डसँग सम्बन्धित अनुसन्धान हाललाई प्रभावित भएको प्रहरीको भनाइ छ। तर त्यसपछिका अन्य घटनामा प्रहरी अनुसन्धानले सफलता पाउदै गएको पाइएको छ।  

भदौ ३ गते राति माधवनारायण २ खेसरहियामा भएको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतबाट दुई जनालाई नियन्त्रणमा लिइसकेको छ। पुजारी हत्या काण्डको सम्बन्धमा पनि प्रहरी अनुसन्धान निकै अगाडि बढिसकेको स्रोतको भनाइ छ।

गढीमाई ३ गम्हरियामा उखुखेतमा भएको महिलाको शंकास्पद मृत्यु र ईशनाथ ७ का युवकको भारतमा भएको हत्याको विषयमा पनि प्रहरीको अनुसन्धान सफलताको नजिक पुगेको छ। ईशनाथका युवकको ससुराली भारतमा पर्ने ससुरालीका आफन्तले युवकसँग मोटो रकम सापट लिएको र सोही रकम माग गर्दा युवकले ज्यान गुमाउनु परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतको भनाइ छ। आफन्तले बोलाई हत्या गरेर फरार भएको बुझिन आएको र अन्य अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ।

महिलाको आशंकित मृत्युमा पनि प्रहरी अनुसन्धानको निकै नजिक पुगिसकेको छ। एक दुई दिनमै प्रहरीले सफलता पाउने स्रोतको दाबी छ।  

रौतहटमा एकपछि अर्को हत्या हुन थालेको र मुख्य गरी गरुडा ८ जिंगडियाको घटनाले धेरै चर्चा पाएर सबैको ध्यान तानिरहेको सन्दर्भमा प्रहरीको अनुसन्धान टोलीले सबै काण्डमा संलग्नको अनुसन्धान र खोजी गरिरहेको छ। रौतहट प्रहरी, प्रदेश प्रहरी र केन्द्रीय सिआइबी टोलीले सक्रियतापूर्वक अनुसन्धान बढाइरहेको स्रोतको दाबी रहेको छ।

आमरण अनसनमा दुई पूर्वसांसद

रौतहटको गरुडा ८ जिंगडियामा साउन ३१ गते राति घाँटी रेटेर हत्या गरिएको अवस्थामा २० वर्षीय दलित युवक निरन्जन रामको शव फेला परेपछि उत्पन्न परिस्थिति जटिल बन्दै गएको देखिएको छ। प्रहरीले अनुसन्धानको क्रममा स्थानीय सात युवकलाई पक्राउ गरेर १९ वर्षीय विजय रामलाई बलजफ्ती अपराध स्वीकार गर्न हिरासतमै चरम यातना दिएर हत्या गरेको भनी दलितहरुको आन्दोलन चर्किँदै गएको छ। प्रहरी यातनाकै कारण विजय रामको उपचारको क्रममा भदौ १० मा मृत्यु भएको आन्दोलनकारीको दाबी रहेको छ।  

यसै बीच बुधबार बिहान निरन्जन–विजय राम हत्या काण्ड जिल्ला संघर्ष समिति रौतहटले पत्रकार सम्मेलन गरी आठ बुँदे माग अगाडि सारेको छ।

प्रहरी हिरासतमा रहेका निर्दोष चारजनालाई तुरुन्त रिहा गर्नुपर्ने, मृतक निरन्जन राम र विजय रामलाई सहिद घोषणा गर्नुपर्ने, प्रहरीद्वारा हत्या गरिएका विजय रामको मुद्दा दर्ता गरी दोषीलाई कारबाही गर्नुपर्ने, दुवै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, निरन्जन रामको अभियुक्त लखन साह र राजगिर साहलाई अविलम्ब पक्राउ गरी कारबाही गर्नुपर्ने, हत्या काण्डलाई छानबिन गर्न दलित आयोग, मानव अधिकार आयोगसहितको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, दलित अगुवा तथा अधिकारकर्मीको ज्यानधनको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र दलित हिंसा हत्या अविलम्ब रोकिनुपर्ने माग राख्दै संघर्ष समितिका संयोजक सोनालाल रामले आन्दोलनका विभिन्न कार्यक्रम पनि सार्वजनिक गरेका छन्।  

संघर्ष समितिको माग पूरा नहुन्जेल अनसन जारी रहने जनाइएको छ। इलाका प्रहरी कार्यालय गरुडाको मूल गेटसँगै पूर्व माननीय रामपृत पासवान तथा विश्वेन्द्र पासवान आमरण अनसनमा बसेका छन्।

प्रकाशित: १७ भाद्र २०७७ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App