सिरहा नगरपालिका–६ का चन्दन महरा आँखाले देख्दैनन्। परिवारका अन्य सदस्यले ज्यालामजदुरी गरी ल्याएपछि घरको चुलो बल्छ। तर, लामो समय लकडाउनका कारण मजदुरी रोकिँदा महरा परिवारको चुलो बल्न छोडेको छ।
चन्दनको मात्र नभई एकल महिला चन्द्रकला महराको घरको चुलोमा पनि आगो बल्न छोडेको छ। खानेकुरा केही नहुँदा उनी धेरै दिनदेखि पैचो मागेर जसोतसो जिवन चलाउँदै छिन्। दैनिक ज्यालामजदुरी गरेर पेट पाल्दै आएकी उनको मजदुरी रोकिएसँगै चुलो बल्न छाडेको हो।
चन्दन र चन्द्रकला कारोना महामारीका कारण भोकको सिकार हुन पुगेका उदाहरण पात्र मात्र हुन्। सिरहा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणमा करिब ६ करोड रकम खर्च ेपनि यहाँका अधिकांश विपन्नहरुको चुलो बन्द छ।
‘हामी त जसोतसो भोक पचाई हाल्छौ तर बच्चाहरु भोक लाग्यो भन्छन्’ गुजरी महरा भन्छिन्,‘ के खुवाउँ ? रोगले भन्दा भोकले मरिएला जस्तो भो।’ बिहान बेलुका हातमुख जोर्न समस्या भए पनि स्थानीय सरकारबाट राहत पाएका छैनन्, उनीहरु।
लकडाउन र निषेधाज्ञाले गाउँ सहर बन्द भएका बेला दैनिक ज्यालामजदुरी गरी गुजारा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन्। जसका कारण उनीहरुको चुलोसमेत बल्न छोडेको छ तर खाद्यन्न ब्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकार चुपचाप छन्। स्थानीय सरकार समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन्।

लकडाउनका कारण आफु निकै समस्यामा परेको सिरहा नगरपालिका–६ कि उषा महराले बताइन्। उनी शारीरीक रुपमा अशतm महिला हुन्। घरमा न खाने अन्न छ। न किनेर खानलाई पैसा छ। दैनिक ज्याला मजदुरी गरेर पेट पाल्दै आएको उनको परिवार भोकभोकै बस्नु पर्ने अवस्थामा पुगेको छ। पैचो मागेर कहिलेसम्म बाँच्ने हो’, उनले भनिन्।’
लकडाउनका कारण विपन्न परिवारको दैनिकि कष्टकर बन्दै गएपनि स्थानीय सरकार पहलकदमी नलिँदा सिरहाका युवाहरुले ‘फुड बैंक’ संचालन गरेका छन्। सिरहा युनाइटेटको नामबाट युवाहरुले आफ्नै खर्चमा नगरका विपन्नहरुलाई खाद्य सामग्री वितरण सुरु गरेका छन्।
हामी युवाहरु संगठित भएर आफ्नै खर्चमा ‘फुड बैंक’ अभियान सुरु गरेका छौं’ जितेश कर्णले भने,‘ बन्दाबन्दीबाट प्रभावित विपन्न परिवारलाई खाद्यसामाग्री उलपब्ध गराउँदा सन्तुष्टि प्राप्त हुन्छ। अहिले आएर बैंकमा खाद्य सामग्री उपलब्ध गराउन सहयोगीहरु पनि जुट्न थालेका छन्। लगातारको लकडाउन र निषेधाज्ञाले गाउँ सहर ठप्प हुँदा अति विपन्न परिवार प्रभावित हुँदै आएका छन्।
दुई छाकको समेत जोहो गर्न नसकेका परिवारलाई लक्षित गरी हामीले फुड बैंक संचालन गरेका छौं’ कर्णले भने,‘हाम्रो नारा नै ‘चाही त ल जाउ नै त द जाउ’ (हुनेले दिनुस् नहुने लिएर जानुस्) हो।’ सुरु सुरुमा लिने मात्र आउँथे, अहिले दिनेहरु पनि जुट्दै छन, उनले बताए।
अभियानमा स्थानीय मनकारीहरुले पनि उत्साहित हुँदै सहयोग गर्न थालेका छन्। मनकारीहरुले चामल, चिउरा, दाल, नुन, चिनी, सोयाबिन, तरकारी लगायतका खाद्य सामाग्री फुड बैंकमा जममा गरिरहेका छन्।
सिरहाका समाजसेवी नविन कुमार यादवले पनि चामल लगायतका आद्य सामग्री सहयोग गरेका छन्। उनी भन्छन्,‘विपद्को बेला हुनेले नहुनेलाई सहयोग गर्नुभन्दा पुन्यको काम अरु केही छैन। अहिले कतिपय मध्यमवर्गी परिवारमा पनि खाद्य संकट सुरु भैसकेको छ, उनले भने।
निजी संस्थामा काम गरे गुजारा चलाउने अधिकांशको काम रोकिँदा हातमुख जोड्न समस्या परेको छ। यस्तो विपद्मा सरकार सुतेको बेला सिरहाका युवाहरुले सुरुको अभियान सराहनीय भएको यादवको भनाई छ। ‘हुनेले दिने र नहुनेले लिने’अभियान अन्तगर्त अशतmहरुको घरमै पुगेर राहत उपलब्ध गराउने काम पनि सुरु गरिएको छ।
‘राहत लक्षित वर्गसम्म पु¥याउन हामी लागिपरेका छौं, त्यसैले अशतmको घरघरमै पुगेर खाद्यान्नसँगै पौष्टिक सामग्री समेत वितरण गरिहरका छौं, कर्णले भने, ‘राहतको दुरुपयोग नहोस् र पीडित परिवारले साँच्चै राहत महसुस गर्न सकून् भन्ने हाम्रो उदेश्य हो।’ दश जना विपन्न गर्भवती महिलालाई खाद्यान्न संगै हर्लिक्स समेत वितराण गरिएको उनले बताए। अहिलेसम्म २ सय ४५ विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकिएको कर्णले बताए।
प्रकाशित: १४ भाद्र २०७७ ०४:१३ आइतबार





