८ वैशाख २०८१ शनिबार
समाज

नदीजन्य पदार्थ उत्खनन्मा कडाइ

खोटाङले मापदण्ड विपरित नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्, संकल् र निकासीमा कडाइ गरिने भएको छ। प्रारम्भिक वातावरणीय परीक्षण नगरी जिल्लाका नदी तथा खोलाबाट जथाभावी निर्माण सामग्री निकासी भइरहेको अवस्थामा जिल्ला अनुगमन समितिले जथाभावी ढुंगा, गिटी र बालुवालगायतका खानीजन्य पदार्थ उत्खनन्, संकलन र ढुवानीमा कडाइ गर्ने निर्णय गरेको हो। आगामी दिनमा जिल्लामा यसलाई व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ विपरित उत्खनन, संकलन तथा ढुवानी गर्न नपाइने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक बबी चाम्लिङले बताए।

‘मापदण्ड विपरित उत्खनन्, संकलन तथा ढुवानी गरिएको ढुंगा, गिटी र बालुवा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अनुगमन समिति समक्ष बुझाउछ,’ उनले भने, ‘अनुगमन समितिले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि पुनः प्रहरीमार्फत सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले गरेको कारबाहीको जानकारी अनुगमन समितिलाई दिने निर्णय भएको छ।’ समितिले निर्णय कार्यान्वयनका लागि शुक्रबार जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरेको जनाएको छ।

अनुगमन समितिको बैठकले ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १५ अनुसार कार्यविधि बनाएर पेस गर्न जिल्ला समन्वय समितिका अधिकारी राजेश गिरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यविधि तर्जुमा उपसमिति गठन गरेको छ। उपसमितिलाई १० दिनभित्र कार्यविधि तयार गर्न कार्यआदेश दिइएको छ। बैठकले मापदण्ड विपरीत निकालिएका नदीजन्य तथा खानीजन्य पदार्थ नियन्त्रणमा लिने निर्णय गरेको बताइएको छ।

खोटाङका अधिकांश स्थानीय तहका नदी तथा खोलाबाट प्रारम्भिक वातावरणीय परीक्षण नगरी नदी तथा खोलाबाट जथाभावी निर्माण सामग्री निकासी भइरहेको छ। हलेसी तुवाचुङ नगरपालिका र रावाबेंसी गाउँपालिका बाहेकका अन्य स्थानीय तहमा प्रारम्भिक वातावरणीय परीक्षण नगरी नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवालगायतका निर्माण सामग्री संकलन तथा उत्खनन् भइरहेको पाइएको प्रमुख चाम्लिङले बताए।

प्रकाशित: १४ भाद्र २०७७ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App