जुम्लामा कोरोना संक्रमित बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा हरेक स्थानीयतहमा व्यस्त छन्। उनी सचेतना फैलाउने, सुरक्षामा सामान प्रदान गर्नुका साथै कोरोना संक्रमण रोकथामका लागि छलफल गर्दै गाउँगाउँ पुगेका हुन्। प्रमुख जिल्ला अधिकारी थापा तत्कालिन सिँजा क्षेत्रलाई केन्द्रमा राखेर कोेरोना रोकथाम तथा नियन्त्रणका लागि उनी सक्रिय भएका हुन्।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सदस्यसहित प्रमुख जिल्ला अधिकारी थापा हरेक स्थानीय तहमा पुग्ने अभियानमा छन्। स्थानीयतहले निर्माण गरेका आइसोलेसनको अनुगमन गर्ने, आइसोलेसनमा मापदण्ड अनुसारको व्यवस्थापन गर्न सुझाव दिने र स्थानीय संग कोराना संक्रमण फैलन नदिको लागि उच्च सतकर्ता अपनाउनको लागि आग्रह गरिरहेका छन्। उनले गाउँमा पुगेर मास्कको नियमित रुपमा प्रयोग गर्न आग्रह गर्दा स्थानीय अचम्ममा परेका छन्। प्रमुख जिल्ला अधिकारी थापाले मास्क दिदा उनीहरुले यो आफ्नै सुरक्षाको लागि भएको भन्दै घरबाहिर मास्क लगाएर मात्र निस्कने प्रतिबद्धता जाहेर गरेका हुन्। एक स्थानीयले भने,‘जिल्लाको सुरक्षा प्रमुख नै गाउँमा आएर मास्क बाँड्दा निकै खुसि छौँ। यो हाम्रै लागि हो भन्ने सोचेका छौँ। अब आफै किनेर भएपनि मास्कको प्रयोग गर्छौँ। जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्छौ। ’
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको टोलीले पालिकास्तरमा हिमा , सिजा र कनकासुन्दरीमा निर्माण भएका आइसोलेसनको अनुगमन गरेको छ। साथै सिँजा गाउँपालिकामा निर्माणाधिन ईलाका प्रशासन कार्यालय नराकोटको अनुगमन पनि गरेको छ।
कोरोना भाइरसका कारण बिरामी भइरहेको अवस्थामा आउजाउ गर्न सहज होेस भन्नका लागि कर्णाली राजमार्गको नाग्म गमगडी सडक र पालिकास्तरीय सहायक सडकहरुको पनि अनुगमन गरिएको छ। आइसोलेसन कक्षमा सहजै रुपमा एम्बुलेन्स तथा कोरोना संक्रमित बोक्ने गाडी पुगाउन सहज हुने गरि व्यवस्थापन गर्न स्थानीयतहलाई भनिएको थियो।
अनुगमनका शिलशिलामा हिमा गाउँपालिकामा देखिएका संक्रमितको कन्ट्रयाक्टमा रहेका १ सय ३४ जनाको स्वाब संकलन गरिएको थियो। परिक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दिइएको छ। अनुगमन क्रममा हिमा ,सिँजा र कनकासुन्दरी गाँउपालिकाहरु मास्क नलागाउने, भिडभाड गर्ने प्रवृति अझैसम्म पाईएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
उनले कोरोना रोकथाम र नियन्त्रणको लागि पालिकास्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधि संग समन्वय गरि यथाशीघ्र कार्यक्रम संचालन गर्न हुन स्वास्थ्य संयोजकरूलाई निर्देशन गरिएको बताए।
प्रकाशित: १० भाद्र २०७७ १२:२१ बुधबार





