नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर आज बैठक बोलाइएको हो। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिए।
एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन,समसामयिक राजनीतिक परिस्थिति र शनिबार प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि आज पुस १३ गते समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरूको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिवसहितका नेताहरूले ति नामको छोटो सूची तयार गरेका छन्।
आजको बैठकमा विभिन्न नेताहरूले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर आज नै निर्वाचन आयोगमा बुझाउने तयारी छ।
प्रकाशित: १३ पुस २०८२ ०७:२१ आइतबार





