यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमाथि रूसले गरेको आक्रमणले मस्को शान्ति चाहँदैन भन्ने स्पष्ट देखाएको बताएका छन्। शनिबार दिएको वक्तव्यमा जेलेन्स्कीले यो कुरा त्यतिबेला भनेका हुन्, जब उनी शान्ति वार्ताको नयाँ चरणअघि अमेरिका जाँदै थिए।
जेलेन्स्की आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम रहेको छ। यस भेटमा अमेरिका र यूक्रेनका अधिकारीहरूले तयार पारेको २० बुँदे शान्ति प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।
स्थानीय अधिकारीहरूका अनुसार किभमाथि करिब १० घण्टासम्म चलेको मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
यूक्रेनका विकास मन्त्री ओलेक्सी कुलेबाले ऊर्जा पूर्वाधारमा क्षति पुगेकाले किभ र आसपासका क्षेत्रमा करिब ४० प्रतिशत आवासीय भवनहरूमा हीटिङ सुविधा अवरुद्ध भएको जानकारी दिएका छन्।
टेलिग्राममार्फत जेलेन्स्कीले रूसले किभतर्फ करिब ५०० ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको बताए। उनका अनुसार ती आक्रमणहरूमा ऊर्जा पूर्वाधार र सर्वसाधारणसँग सम्बन्धित ठिकानाहरूलाई निशाना बनाइएको छ। एजेन्सी
प्रकाशित: १३ पुस २०८२ ०७:२७ आइतबार



-600x400.jpg)

