२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

वर्षाले बाटो अवरुद्ध हुँदा सुत्केरी र नाबालक बच्चाको मृत्यु

दुल्लु नगरपालिका–५, पोखराकी रीता धमाला पोखरेललाई सडक अबरुद्ध हुँदा स्टेचरमार्फत अस्पताल लगिँदै । तस्विरः नगेन्द्र/नागरिक

वर्षाले सडक बाटो अवरुद्ध हुँदा कालीकोटमा एक सुत्केरी महिला र उनका नाबालकको मृत्यु भएको छ। रास्कोट–२, सिप्खानाकी २८ वर्षीया शीर सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो।

सुत्केरी बेथा लागेपछि स्टेचरमार्फत सेरा स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह लिँदै गर्दा बीच बाटोमै उनी सुत्केरी भएकी थिइन्।  उनले बाटोमा बच्चा जन्मिए पनि सालनाल खसेको थिएन। ‘सालनाल नखसेपछि हामीले प्रसूति गृह लिएका थियौं,’ उनका जेठाजु हरसिंह सार्कीले भने, ‘त्यहाँ पनि उपचार हुन सकेन।’ उनको घरबाट प्रसूति गृहसम्म सडक बाटो छ तर अहिले वर्षाका कारण अवरुद्ध छ। वर्षाको समयबाहेक अरु समयमा यहाँ दैनिक गाडी गुड्छन्। साउन १२ गते राति आएको पहिरोले चौथाखोला नजिकै बाटो बगाएपछि सडक बन्द भएको थियो। ‘गाडीबाट प्रसूति गृह जान पाँच मिनेटजति समय लाग्छ,’ उनले भने, ‘तर बाटो बन्द हुँदा आधा घण्टा बढी लाग्यो।’ बाटो अवरुद्ध नभएको भए सुत्केरी महिलाको ज्यान बच्ने उनको भनाइ छ।

सेरामा सुत्केरीको उपचार नहुँदा करिब एक घण्टाको दुरीमा रहेको सामुदायिक अस्पतालमा पु¥याइएको हरसिंहले बताए। सामुदायिक अस्पतालमा पनि उपचार सम्भव नहुँदा सुत्केरी शीरलाई जिल्ला अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको उनले जनाए। सामुदायिक अस्पतालबाट हिँडेको करिब पाँच मिनेटमा सुत्केरी महिलाको मृत्यु भएको आफन्तको भनाइ छ।

सुत्केरी आमाको मृत्यु भएपछि दूध खान नपाएर नाबालक बच्चाको समेत एकदिन पछि मृत्यु भएको हरसिंहले जनाए। पाँच वर्ष अघि निर्माण भएको उक्त सडक बर्सेनि वर्षाको समयमा अवरुद्ध हुँदै आएको छ। ‘ठाउँठाउँमा बाटो अवरुद्ध नभएको भए तीन घण्टामै सदरमुकाम पुगिन्छ,’ उनले भने, ‘तर बाटो ठाउँठाउँमा बिग्रेकाले लिन सकिएन। अन्ततः दुःखद् घटना भयो।’ शीरको मृत्यु भएपछि उक्त बाटो खुलाउन काम भइरहेको छ।  

कर्णालीका ग्रामीण क्षेत्रमा सडक अवरुद्ध हुँदा यहाँका सर्वसाधारणलाई स्वास्थ्य संस्थासम्म पुग्न सकस भएको छ। गाडी नहुँदा स्टेचरमा लामो दुरीको जोखिम यात्रा गर्दै यहाँका बासिन्दा स्वास्थ्य संस्थासम्म पुग्न बाध्य छन्।  

प्रकाशित: १० भाद्र २०७७ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App