सप्तरीको सीमावर्ती क्षेत्रबाट डुंगामा सेतो मटर तस्करी मौलाएको छ। डुंगामा राखेर भारत तस्करी गर्न लागेको १ सय ७५ बोरा मटर हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाटोलबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।
सोमबार राति सशस्त्र प्रहरीले ६ वटा डुंगासहित १ सय ७५ बोरा अर्थात ४ हजार ३ सय ७५ किलो मटर बरामद गरेको सशस्त्र प्रहरी बल राजविराजका गणपति राजु श्रेष्ठले बताए।
हनुमाननगर कंकालिनी नगरपालिका–११ स्थित कोसीको स्पर नम्बर ६८० बाट उक्त परिमाणको मटर बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कुनौलीमा बुझार्ईएको श्रेष्ठले बताए। डुंगाबाट मटर तस्करी भैरहेको सूचना पछ्याउँदै गएको सशसत्र प्रहरीको टोलीलाई देखेर तस्कर फरार भएका थिए।
प्रहरी र तस्करबीचको सेटिङमा हुँदै आएको मटर, मदिरा तस्करीको नेक्ससलाई सशस्त्र प्रहरीले विथोल्दै आएको छ। यस अघि साउन २६ गते सशस्त्र प्रहरीको टोलीले ४५ बोरा अर्थात १ हजार १ सय २५ किलो मटर बराद गरेको थियो। डुंगामा राखेर हुँदै आएको मटर, मदिरा तस्करीमा संलग्न तस्कर पक्राउ नपर्दा तस्करी रोकिएको छैन।
प्रदेशको आठै जिल्लाबाट तस्करी हुने मटर पछिल्लो समय सप्तरीको नाकाबाट फस्टाएको छ। लकडाउन र सीमा सिलका कारण अन्य जिल्लाका नाका सहज नभएपछि तस्करका लागि सप्तरीको कोशी पलार क्षेत्र सुरक्षित नाका बनेको छ।
पहिला तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको मटरलाई तस्करले सीमा नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा सुरक्षाकर्मीको आँखा छलेर भारत पुर्याउने गर्थे। तर, पछिल्लो समय सप्तरी केन्द्रित भएर मटर तस्कर कोसीबाट डुंगामा भारततिर लैजाँदै छन्। हनुमाननगरका एक स्थानीय भन्छन्, ‘सशस्त्र प्रहरीको जिल्ला प्रमुख परिवर्तण भएसँगै मटर पारि लैजान खोज्ने गिरोहका माल धरापमा पर्दै आएको छ। ‘सशस्त्र प्रहरीको नयाँ जिल्ला नेतृत्वलाई छलेर टपाउन खोज्दा माल समातिदै आएको छ,’ उनले भने। मटर, मदिराको भारत तस्करीका लागि यो नाका नाम कमाएको छ,’ उनले भने, ‘लकडाउनका बेलादेखि डुंगाभरी मदिरा र मटर पार हुँदै आएको छ, अहिले कतैकतै सशस्त्र प्रहरीको धरापमा पर्दै आएको छ।’
नेपालमा सस्तो पाइने मटर भारतमा राम्रो भाउ पाइने भएकाले चोरी निकासी हुने गरेको छ। नेपालमा तेस्रो मुलुकबाट आयातित मटरको तुलनामा प्रतिकिलो ५० रुपैयाँ कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो। सीमापारी लगिएको मटरको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ। मटरको भाउमा रहेको अन्तर कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो।
भारतीय रुपैयाँको कालोबजारी गर्ने गिरोहले सीमामा भारतीय मुद्रामा साढे दुई प्रतिशत (नेपाली चार रुपैयाँ) दिएर हातोहात किन्ने गर्छन्। उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेच्ने गर्छन्। भारतीय मुद्राको उपलब्धता भने सीमावर्ती क्षेत्रमा सधैं अपुग रहने भएपछि मटर तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्राको कालोबजारीले सहजै ठाउँ पाएको जानकारको विश्लेषण छ। मटर तस्करीसँगै भारतीय मुद्राको कालोबजारीले यो धन्दा मौलाएको हो।
सीमावर्ती क्षेत्रमा मटरको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दा सीमावर्ती बजारको अर्को आकर्षण हो। अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कारोबार पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ।
प्रकाशित: ९ भाद्र २०७७ ०७:५४ मंगलबार





