२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जनप्रतिनिधि दैलामा पुगेपछि संक्रमितका आँखामा खुशीका आँशु

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेसनमा बसेका रुद्र आचार्यको घरमा पुगे। कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमै बसेको उनको परिवारको मनोबल बढाउन उपप्रमुख दैलामा आएपछि आचार्य छक्क परे। 

उपप्रमुख आचार्यले उनलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस संक्रमणले कुनै असर नगर्ने भन्दै उनको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिइन्। 'कोरोना लागेको भनेर मानिसहरु टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो', संक्रमित आचार्यले भनिन्। आचार्यले कोरोना भाइरस संक्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गरेकी छन्।  

एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधि कोरोना संक्रमितको मनोबल बढाउन घरघरमा पुगेकी छन्। यो अभियानले कोरोना संक्रमितको मनोबल बढेको मात्रै होइन, संक्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा संक्रमितका कुरा काटेर बस्नेहरुको मुखसमेत बन्द भएका छन्। जनप्रतिधिहरु आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको संक्रमितको प्रतिक्रिया छ।  

बुटवल­ ११ का संक्रमित परिवारलाई नियमित दूध दिंँदै आएका एक व्यक्तिले संक्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे। छेउछाउका घरमा फोन गरेर संक्रमितका दुवै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए। 

यसका कारण छिमेकी पनि दोधारमा परे तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर संक्रमितलाई भेटेपछि छिमेकीको माया र सद्भाव झन् बढ्यो। 'नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो', एक संक्रमितले भने।  

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव संक्रमितका परिवारले गरेका छन्। 'अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो', आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आएको देखेर आँखाभरि खुशीका आँशु झार्दै बुटवल १३ का संक्रमितले भने।  

यही भदौ ५ गते हिन्दू नारीको चाड हरितालिकाका दिनमा समेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेसन सेन्टरमै पुगेर उपप्रमुख आचार्यले शुभकामना आदानप्रदान गरिन्।  

स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामनापत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधि आइसोलेसनमा पुगेपछि संक्रमितको मनोबल बढेको छ। संक्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नाका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताइन्।  

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यसमध्ये महिला ५४ र पुरुष १११ जना छन्। सबैभन्दा बढी वडा नं ११ मा ४८ संक्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिए।

उपमहानगरपालिकामा अधिकांश संक्रमितमा लक्षण नदेखिएकाले संक्रमण फैलिदै गएको छ। संक्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी  गर्ने काम भइरहेको र कन्ट्याक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७७ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App