तीन दिनअघि भर्ना भएका एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल आइसियुमा कार्यरत नर्स र अन्य विरामीका कुरुवा आफन्तहरु आन्दोलित भएका छन्।
पिसिआर परीक्षण विना नै विरामी भर्ना गरेर आइसियुमा कार्यरत नर्सहरुसँगै अन्य विरामीहरुलाई पनि संक्रमणको उच्च जोखिममा पारेको भन्दै नर्सहरुसँगै विरामीका कुरुवाहरु पनि आन्दोलित भएका हुन्। उनीहरुले बिहानैदेखि अस्पताल प्रशासनमा धर्ना दिइरहेका छन् भने मेट्रोनसँग नर्सहरुका प्रतिनिधिहरुले वार्ता गरिरहेका छन्। प्रदेश नं २ बाट ल्याइएका एक विरामीलाई पिसिआर जाँच नगरी आइसियुमा भर्ना गरिएको थियो। उनको हिजो (आइतबार) राती पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसियुमा खैलाबैला भएको हो।
धर्नामा बसेका नर्सहरुले संक्रमितको उपचारमा खटिएका डाक्टरहरुलाई क्वारेन्टिनमा पठाए पनि आफुहरुलाई भने क्वारेन्टिनको व्यवस्था नगरेर आफ्नो र परिवारको स्वास्थ्यमाथि अस्पताल प्रशासनले खेलवाड गरेको गुनासो गरे। साथै, आइसियुमा संक्रमित बाहेक अन्य ५ जना विरामीहरु पनि उपचाररत रहेकोले उनीहरुलाई पनि संक्रमण हुने जोखिम बनाएको बताए। डिउटीमा हुँदा पनि पर्याप्त सुरक्षा सामग्री उपलब्ध नभएको नर्सहरुको गुनासो छ। ‘फेस सिल्ड पनि एउटै पालैपाले लगाउनु परिरहेको छ। एन ९५ मास्क पनि छैन, सर्जिकल मास्क किनेर लगाउनु पर्छ। पञ्जा पनि विरामीको कुरुवालाई नै किन्न लगाइरहेका छौं,’ धर्नामा बसेकी त्रिवेणी ढकालले भनिन्,‘हाम्रो स्वास्थ्यमाथि खेलवाड भइरहेको छ।’
धर्नामा बसेका नर्सहरुले आफुहरु क्वार्टरमा नबस्ने भएकोले घरमा परिवार पनि संक्रमणको जोखिममा भएको बताए। क्वारेन्टिनको व्यवस्था नभएको र घर पनि जानसक्ने अवस्था नभएकोले प्रशासनले नर्सहरुको लागि क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने उनीहरुले माग गरेका छन्। साथै उनीहरुले जिम्मेवार व्यक्तिहरुबाट कोभिडको अग्रपंक्तिमा उपचारमा खटिएका नर्सहरुलाई मानसिकरुपमा साथ, सहयोगसमेत नपाएको गुनासो गरेका छन्। विरामीका कुरुवाहरु पनि धर्नामा
असुरक्षा भएको भन्दै धर्नामा बसेका स्टाफ नर्सहरुलाई आइसियुमा रहेका अन्य विरामीका कुरुवाहरुले पनि साथ दिएका छन्। उनीहरु पनि नर्सहरुसँगै धर्नामा छन्।
प्रतिष्ठानले पिसिआर परीक्षण नगरी संक्रमित विरामीलाई आइसियुमा भर्ना गरेर अन्य विरामीहरुलाई पनि संक्रमणको जोखिममा पारेको भन्दै कुरुवाहरु पनि धर्नामा बसेको बताउँछन्। ‘मेरो आमा २ नम्बर बेडमा हुनुहुन्छ, हिजो राती १ नम्बर बेडको विरामी कोरोना पोजेटिभ भएको थाह भयो,’धरानकी जशोदा लिम्बुले भनिन्,‘कोरोनो छ, छैन पहिला नै टेष्ट गरेर ल्याउनुपर्ने होइन ? त्यहाँ हाम्रो आमा बुबालाई केही भयो भने जिम्मेवारी कस्ले लिन्छ ?’ अस्पतालले नर्सहरुलाई पञ्जासमेत नदिएकोले आफुहरुले नै खरीद गरेर दिइरहेको पनि उनले बताइन्। ‘मास्क र पञ्जा त दिनुपर्छ नि। पञ्जा हामीले किनेर दिइरहेका छौं,’उनले भनिन्।
प्रकाशित: ८ भाद्र २०७७ ०७:४५ सोमबार





