गत चैतको पहिलो सातादेखि नै जुम्लामा कोरोनाविरुद्धको सचेतना फैलाउन शुरु गरियो । यो समय काम तथा ब्यापारको शिलशिलामा जिल्लाबाहिर निस्केकाहरु घर फर्कदै थिए । यहाँका हरेक स्थानीय तहमा क्वारेन्टिन बने । क्वारेन्टिनमा भारत तथा स्वदेशबाट भित्रिएकाहरुलाई राखिन थालियो ।
कोरोना संक्रमण फैलन नदिनको लागि जुम्लाले निकै राम्रो तयारी गर्यो । तर सयम घर्कदैँ गयो । यहाँका सम्पुर्ण तयारी खुकुलो बन्दै गए । लकडाउन खुल्यो । बाहिर जिल्लाबाट भित्रिनेहरु क्वारेन्टिमा बस्न छाडे । होम क्वारेन्टिनमा बसाल्न सबैलाई दवाब बढ्न थाल्योे । क्वारेन्टिन खालि भए । बाहिरबाट आउने सबै नागरिक सिधै घर जान थाले । अहिले कोरोना संक्रमितको संख्या बढ्नुको परिणाम नै यी यस्तै कारण हुन् ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत जुम्लामा कोरोना भुसको आगो झै सल्कन सक्ने बताउँछन् । कोरोना संक्रमण समुदायस्तरमा फैलिइसक्यो । अब सबै सतर्क र सचेत भएर लाग्नुको विकल्प छैन । नेपाल भारतले घेरिएको क्षेत्र हो । यहाँका अधिकांस नागरिक काम तथा ब्यापारका शिलशिलामा भारतमा जान्छन् । उनीहरु कोरोना संक्रमणको समयमा नेपाल प्रवेश गरे । उनीहरु मार्फत कोरोना भाइरस फैलन पुग्यो, उनले थपे ।
अहिले जिल्लाको सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकामा संक्रमित बढेका छन् । पहिले क्वारेन्टिनमा मानिस राखियो । क्वारेन्टिन त्यति व्यवस्थित थिएनन् । छरिएर क्वारेन्टिन निर्माण गरियो । सबै क्वारेन्टिनमा प्रभावकारी रेखदेख र नियमन हुन सकेन । नागरिक समाजका अध्यक्ष महत भन्छन्,‘पछिल्लो समयमा देखिएको कोरोना संक्रमितको संख्या त्यसैको परिणाम हो ।’
जुम्लामा होम क्वारेन्टिन बन्न लायक संरचना छैनन् । तर क्वारेन्टिनका नाममा नागरिकलाई घर पठाइयो । परिवारसंग घुलमिल बढ्यो । अहिले कोरोना नियन्त्रण बाहिर गइसकेको छ । नागरिक समाजका अध्यक्ष महतले भने,‘ नागरिकले आफ्नो जिम्मेवारी भुल्यौँ । प्रकृतिको बरदान जस्तो ठाउँमा कोरोना प्रवेश गर्न पाउदैन भन्यौँ । धार्मिक कुरामा विश्वास गर्यौ । अहिले संक्रमणको संख्या बढिरहेको छ । ’
गाउँमा भिडभाड गरेर चाडपर्व मनाउन थालियो । सामाजिक दूरी व्यक्तिगत दूरी कायम हुन सकेनन् । बीचमा सत्तापक्ष र प्रतिपक्ष दल गाउँमा संगठन खोल्न प्रवेश गरे । ठूलाठूला आमसभा भेला गरेर पार्टी प्रवेशको लहर चलाए । केही स्थानीय तहमा त झन आफ्नो मान्छेलाई सिधै घर फर्काउने र सर्वसाधारण नागरिकलाई क्वारेन्टिनमा राख्ने गरिएको थियो । कोरोना लाग्दैमा मरिदैन । यहाँको खान्कीले कोरोना प्रवेश पाउन सक्दैन भन्ने भ्रम सिर्जना गरेर अहिले संक्रमितको संख्या बढाउने कार्य भइरहेको स्थानीय बताउँछन् ।
अब परीक्षणको दायरा बढाएर संक्रमितको संख्या एकिन गर्नु पर्नेमा स्थानीय बताउँछन् । हरेक घरको एक जनाको पिसिआर अनिवार्य गर्नुपर्ने नागरिक समाज जुम्लाको माग छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमण हुन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको हुबहु कार्यान्वयन गर्न आग्रह गर्छन् । उनले भने‘मास्कको अनिवार्य प्रयोग गर्नुस । सेनिटाइजरको प्रयोग गर्नुस । साबुन पानीले हात धुने र सामाजिक तथा ब्यक्तिगत दूरी कायम गर्नुस । आफै सुरक्षित भइन्छ । आफू सुरक्षित भएर अरुलाई सुरक्षित राख्न सक्नु अहिलेको अहम जिम्मेवारी हो ।’
हिमा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकामा समुदायमा कोरोना देखिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले साउन ३२ गते राति १२ बजेदेखि जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
प्रकाशित: ६ भाद्र २०७७ ११:४३ शनिबार





