कोरोना भाईरस (कोभिड–१९) कहरबाट बच्दै जनताको अत्यावश्यक सेवा सहज बनाउन उदयपुरको लिमचुङबुङ गाउँपालिकाले ‘इ–गभर्नेन्स सर्भिस’ सुरु गरेको छ । जनता र कर्मचारीलाई संक्रमणबाट बचाउँदै सहज सेवा प्रदान गर्न ‘फेसबुक म्यासेन्जर’ मार्फत अत्यावश्यक सिफारिस दिने व्यवस्था गाउँपालिकाले मिलाएको हो ।
कोरोना संक्रमण हुनबाट रोक्न सातादिनयता सदरमुकाम त्रियुगा, बेलका र चौदण्डीगढी गनरपालिकामा निशेधाज्ञा जारी गरिएका बेला गाउँपालिकाले अत्यावश्यक काममा चाहिने सिफारिस लिन वडा र गाउँपालिका धाउनु नपर्ने व्यवस्थ यो सेवाले पुरा गर्ने प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताए । उनका अनुसार कोही विरामी परे वा अन्य कठिनाईमा आउजाउ गर्न वडामार्फत गाउँपालिकाले दिनुपर्ने सिफारिस लिन अव म्यासेन्जरबाटै प्राप्त हुने छ ।
भदौ ५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइएको यो सेवामार्फत वडाबासीले आफुलाई चाहिने सिफारिसका लागि गाउँपालिकाको आधिकारिक फेसबुक म्यासेन्जरमा निवेदनको फोटो पठाए पुग्ने उनले बताए । आफुलाई चाहिने सिफारिसका लागि कारण उल्लेख गरेर लेखेको निवेदन गाउँपालिकाको फेसबुक म्यासेन्जरमा पठाउनुपर्ने र पठाएको १ घण्टाभित्र माग भएको वेहारोको सिफारिस सोही म्यासेन्जरमार्फत पाउने अधिकृत लिम्बुले बताए ।
अहिलेको सूचना प्रविधिको जमानामा गाउँका प्रायः अधिकांशको हातमा मोवाईल हुने र फेसबुक म्यासेन्जरको पहुँचमा सबै हुने गरेकाले त्यसको सदुपयोग गर्दै सेवा दिन यस्तो प्रविधि सञ्चालनमा ल्याइएको अधिकृत लिम्बुले बताए । यो सेवामार्फत कोही विरामी परेर गाउँ वा जिल्लाबाहिर उपचार गर्न लानु पर्दा सिफारिस अनिवार्य चाहिने नियम छ । तर, भौगोलिक कठिनाई र संक्रमण जोखिमले कार्यालय आउजाउ गर्न कठिनाईले उपचार पाउनसम्म नसक्ने समस्या टार्न यो विधि उपयोगी हुने ठहर गरिएको छ ।
सिफारिस पाउनन आवेदकले सवारी साधन नम्बर, चालकको नाम, विरामीको नाम, ठेगाना, रोगको प्रकृति र कुरुवाको नाम तथा संख्या, जाने ठाउँसमेत खुल्ने निवेदन म्यासेन्जरमा पठाउनुपर्ने छ । निवेदनमा उल्लेखित विवरण अनुसार बढीमा १ घण्टाभित्र सिफारिसपत्र तयार गरी निवेदककै म्यासेन्जरमा पठाउने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नौलसेर राईले बताए ।
‘एक त कोरोनाको उच्च जोखिम छ, यातायात बन्द, अर्कोतिर वर्षायाममा हाम्रोजस्तो विकट पहाडमा बिग्रेका सडकले चाहेको बेला वडा कार्यालय पुग्न धेरै गाह्रो छ’ राईले भने ‘त्यसैले म्यासेन्जरमार्फत सिफारिस दिन पाए जनतालाई सहज हुन्छ भन्ठानेर यस्तो प्रक्रिया थालिएको हो ।’ यसले वडाबाट गाउँपालिका कार्यालयसम्म आईराख्न नपर्ने तथा सदरमुकाम र अन्य ठाउँ बसेका जनतालेसमेत सेवा लिन पैसा, समय र कष्ट सहनु नपर्ने राईले बताए ।
गाउँपालिकाले यो सेवा २४ घण्टै सुचारु राख्नेगरी कर्मचारीको व्यवस्था मिलाएको जनाएको छ । त्यसका लागि स्वास्थ्य शाखा प्रमुख राई र कम्प्युटर अप्रेटरको नाम र मोवाईल नम्बरसमेत उल्लेख गरेर सेवा दिन तैनाथ गरेको छ । गाउँपालिकाले सुरु गरेको यस्तो विद्युतीय सेवा (इ–सर्भिस) उदयपुरमा मात्र नभएर संभवत देशभरीकै स्थानीयतहमा पहिलो पटक हो । यसले खासगरी कोरोना कहर र प्रतिकुल मौसममा पनि जनताले सहज सेवा पाउने गाउँपालिकाका प्रेस सल्लाहकार दिनेश चामलिङले दिए । कोरोना र वर्षायामको प्रतिकुल समयमा गाउँपालिकाले सुरु गरेको इ–सर्भिसले सेवाग्राहीलाई धेरै सहज बनाउने उनको भनाई छ ।
जिल्लाको सबभन्दा विकट र पहाडी भेगको यो गाउँपालिकाका ५ वटै वडा विकट रहेका छन् । गाउँपालिका केन्द्र बाराहासम्म दुःखले जोडिएका नयाँ सडक ट्रयाकहरु वर्षाको पहिरो र हिलाम्य भएकाले वडासँग सम्पर्क विच्छेद भएको अवस्थाले गाउँपालिकाबासीलाई केन्द्र पुगेर सिफारिस लिन समय र खर्चसँगै दुःख झेल्नुपर्ने अवस्था थियो । भर्खरै खनिएका सडकहरु वर्षाले भत्काएका कारण मोटरसाईकलसम्म चल्न नसकेर एउटा सिफारिसपत्र लिन दिनभर पैदल हिडेरै गाउँपालिका पुग्नुपर्ने बाध्यता यो सेवाले हटेको छ ।
गाउँपालिकाले म्यासेन्जर सेवालाई ‘इ–गभर्नेन्स’ को सुरुवाती थालनी भनेको छ । यसपछि अन्य सेवालाई पनि सकेसम्म प्रविधिमैत्री बनाएर जनतालाई सेवा दिने प्रयास जारी राखिने अधिकृत लिम्बुले बताएका छन् ।
प्रकाशित: ५ भाद्र २०७७ ११:२९ शुक्रबार





