प्रदेश १ सरकारले राजधानी विराटनगरमा प्रदेशस्तरीय स्वास्थ्य प्रयोगशाला स्थापनाको पहल थालेको छ। स्नात्तकोत्तर क्याम्पस विराटनगरको जग्गा लिजमा लिएर त्यही परिसरमा प्रयोगशाला स्थापनाको पहल सुरु भएको हो।
शुक्रबार सम्पन्न प्रदेश मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्राललयलाई यसको सम्पूर्ण प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको छ। 'त्रिभुवन विश्वविद्यालय, डिग्री क्याम्पस र सामाजिक विकास मन्त्रालयबीच जग्गाबारे सम्झौता भइसकेको छ', मन्त्रिपरिषद बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले भने 'त्यही सम्झौता अनुसार प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढाउने निर्णयमा सरकार पुगेको छ।'
मन्त्रिपरिषद बैठकले हाल सञ्चालनमा रहेको कोशी कोभिड उपचार केन्द्रका लागि स्वास्थ्यकर्मी तथा प्राविधिकहरुको दरबन्दी सिर्जना गरेर तत्कालै पदपूर्ति गर्ने निर्णय पनि गरेको छ। कोरोना उपचार प्रभावकारी तुल्याउन प्रदेशले आफै जनशक्ति थप्ने सरकारको भनाइ छ। मन्त्रिपरिषदले प्रदेशमा आइसोलेसन बेडहरु पनि तत्कालै स्थापना गर्ने जनाएको छ। बिहीबार राति विराटनगरका एक जना विरामीको होम आइसोलेसनमै ज्यान गएको थियो।
प्रकाशित: ५ भाद्र २०७७ १०:१४ शुक्रबार





