१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

तराईबाट मनाङ उक्लेका शिक्षकमा कोरोना संक्रमण

कोरोना भाइरसका एकजना संक्रमित निको भईसकेपछि हिमालपारिको जिल्ला मनाङ गत असार मध्यदेखि संक्रमण मुक्त भएको थियो। तर, अहिले फेरि हिमाली जिल्ला मनाङ उक्लिएका दुईजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना पुष्टि भएका ती शिक्षक चितवन र मोरङबाट मनाङ पुगेका थिए। संक्रमित दुवैजना शिक्षक पुरुष हुन्।  

स्वास्थ्य कार्यालय मनाङका निमित्त प्रमुख बद्रीराज आचार्यका अनुसार चितवनको भरतपुर–११ घर भई मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभुत विद्यालयका ५७ वर्षीय र मोरङको बिराटनगर–११ घर भई ङिस्याङकै ङावल आधारभुत विद्यालयका ५१ वर्षीय शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु दुवैजना साउन २१ गते कार्यक्षेत्र पुगेका थिए।  

आचार्यका अनुसार सरकारले शिक्षकहरुलाई विद्यालयमा उपस्थित हुन भनेपछि ती शिक्षकहरु कार्यक्षेत्र पुगेका थिए। शिक्षकहरुको त्यो समूहमा १२ जना थिए। ‘सरकारले कार्यक्षेत्रमा हाजिर हुन भनेपछि तराईबाट शिक्षकहरु गाउँ उक्लेका थिए। अहिले ती शिक्षकहरुमा संक्रमण देखिएको हो,’ आचार्यले भने, ‘हामीले दुईदिन अघि १८ जनाको नमूना संकलन गरि परीक्षणका लागि पोखरा पठाएका थियौ। 

ती मध्ये दुईजनामा संक्रमण पुष्टि भएको छ।’ संक्रमित शिक्षकद्वयको अवस्थामा सामान्य छ। उनीहरुलाई कुनैपनि स्वास्थ्य समस्या छैन। आचार्यले ती शिक्षकहरुको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर उनीहरुको पनि नमुना परीक्षण गर्ने तयारी भएको बताए। तराईबाट हिमाली जिल्ला उक्लिएका ती शिक्षकहरु क्वारेन्टिनमै बसेका थिए।

संक्रमण पुष्टि भएका शिक्षकद्वय सदरमुकाम चामेबाट एकदिन पैदलयात्रापछि पुगिने गाउँका विद्यालयमा अध्यापन गराउँछन्। संक्रमण पुष्टि भएपछि ती शिक्षकलाई अहिले सदरमुकाम चामेस्थित अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको आचार्यले बताए। ‘शिक्षकलाई घण्टौ पैदल हिडाएर ल्याउँदा समस्या हुने देखेका छौ। 

तर अहिले गाडी पाउन पनि समस्या छ। भएको एउटा मात्र एम्बुलेन्स पनि बिरामी लिएर गएकोमा पहिरोका कारण लम्जुङमै रोकिएको छ,’ आचार्यले भने, ‘सकेसम्म गाडीमा ल्याउने प्रयास भईरहेको छ।’ दुर्गम क्षेत्रमा संक्रमित फेला पर्दा समस्या भएको उनले बताए।  

मनाङमा यसअघि कपिलवस्तुबाट गएका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो। कपिलवस्तुका ती संक्रमित मनाङको एक कार्यालयमा कार्यरत थिए। आचार्यका अनुसार मनाङमा हालसम्म ८१ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित: ५ भाद्र २०७७ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App