२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

जेनजी आन्दोलनः सहाराविहीन भयो थापाको परिवार

गत भदौ २४ गते बिहान १० बजे धनगढीमा रहेकी पुष्पा थापालाई श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउने र टिकट काटिसकेको जानकारी दिएका थिए। अघिल्लो दिन काठमाडौंमा भएको जेनजी आन्दोलनको अवस्था बुझ्न पुष्पाले श्रीमान्‌लाई सोध्दा प्रहरी जवान थापाले आफू महाराजगञ्जस्थित प्रहरी वृत्त कार्यालयमा रहेको र अवस्था सामान्य भएको बताए।

थापाले फोनमा भने, ‘आज हिजोजस्तो तनावपूर्ण अवस्था छैन, तीन दिनपछि घर आउँछु, बसको टिकट काटिसकेँ, चिन्ता लिनु पर्दैन।’ तर दिन ढल्दै जाँदा काठमाडौंमा तनाव बढ्यो। प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाए र महाराजगञ्जस्थित प्रहरी कार्यालयमा प्रवेश गरी प्रहरीमाथि कुटपिट गर्न थाले। यस क्रममा प्रहरी जवान थापाको मृत्यु भयो।

थापामाथि भएको कुटपिटको भिडियो केही समयमै सामाजिक सञ्जालमार्फत पुष्पासम्म पुगेको थियो। पुष्पा श्रीमान् जीवित रहेको विश्वासमै रहिन् र मृत्यु भएको थाहा पाउन सकेनिन्। थापा परिवार दार्चुला, लेकम गाउँपालिका–३ का हुन्। उनका भाइ महेश केही महिना अघि महाकाली नदीमा धार्मिक काम सकेर फर्कँदा भिरबाट लडेका थिए। छोराको मृत्युपछि कान्छी बुहारीले घर छोडेकी थिइन्।

करिब एक दशकअघि श्रीमान् गुमाएकी निर्मला देवीले पछिल्लो एक वर्षमा दुवै सन्तान गुमाएकी छन्। थापाको मृत्युसँगै उनको जीवन उजाड भएको छ। उपचार गराइरहनुपर्ने स्वास्थ्य समस्या र सन्तान गुमाएको पीडामा उनी आफैंलाई सम्हाल्न सकिरहेकी छैनन्। एक वर्षअघि परिवार पाँच जनाको थियो, अब दुवै छोराले संसार छाडेका छन्।

आमा र श्रीमतीले उत्तमको शव पनि देख्न पाएनन्। मृत्यु पुष्टि भएपछि पुष्पा काठमाडौं आउन सकेनिन्। थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। काका रूपसिंह थापाले महेन्द्रनगरमा किरिया गरेका थिए।

प्रहरी जवान थापाले गाउँको कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि काका रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा लगाएका थिए। विसं २०७३ मा प्रहरीमा भर्ना भएका थापा प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङमा थिए। केही महिनाअघि मात्र काठमाडौं सरुवा भएका थापाले ऋण गरेर धनगढीमा १० धुर जग्गा किनेका थिए, तर घर बनाउने सपना पूरा हुन सकेन।

थापाका साला नारायण भट्टराईले भने, ‘भिनाजुको निधनपछि दिदी र आमा सहाराविहीन छन्। आमाको उपचार भइरहेको छ। भिनाजुको मृत्युपछि मैले उहाँहरुलाई सहयोग गरिरहेको छु, तर कति समय सहयोग गर्न सकिन्छ थाहा छैन।’ उनले केही महिनाअघि विदेशबाट फर्केको र फेरि त्यही जाने तयारीमा रहेको बताए।

थापालाई सरकारले सहिद घोषणा गरिसकेको छ र परिवारलाई केही रकम उपलब्ध गराइएको छ। आर्थिक सहयोग भए पनि परिवार उजाडिएको छ। थापाकी श्रीमती पुष्पा श्रीमान्को हत्या गर्नेविरुद्ध कडाभन्दा कडा कारबाहीको माग गरिन्। सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ। साथै पुष्पाले आफूलाई पनि सानो भएपनि जागिर उपलब्ध गराउनुपर्ने माग गरेकी छन्। रासस

प्रकाशित: १४ पुस २०८२ १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App