१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कोरोनाले खोस्यो तीजको हर्षाेल्लास

कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीले २ मिनेट २३ सेकेन्डको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याएकी छिन्। उक्त भिडियोमा तीजको गीत छोरीसहित छमछम सांसद खत्री नाचेको देखिन्छ। गत वर्षहरूमा निर्वाचन क्षेत्रका महिलाहरूसँग तीज मनाउँदै आएकी उनी यस वर्ष कोठाभित्र सीमित रहेर तीज मनाइन्।  

उनीजस्तै दशरथपुरकी विनिता बटाला केसीले पनि गत वर्ष जस्तो नेपाली हिन्दू महिलाको महान् चाड तीज कोठाभित्रै मनाइन्। कोठाभित्र परिवारसहित नाचेको भिडियो उनले पनि सामाजिक सञ्जालमा राखेकी छिन्। उनलाई मात्र होइन नेपाली हिन्दू महिलाहरूको तीज विश्वभरि फैलिएको कोरोना भाइरसले यस वर्ष प्रभावित पारिदियो छ।

आआफ्नो घरमा परिवारसहित मात्र महिलाहरूले तीज मनाए। तीजमा भीडभाड हुने शिव मन्दिरहरू यस वर्ष सुनसान रहे। तीजमा कतिपय महिलाहरू नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्छन्। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आधी शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाइधुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रत बस्ने गर्छन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन छ।

विवाहित महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहितहरू सुयोग्य वरको आशा राखी व्रत बस्छन्। तीजको एकसाता अघिदेखि सहर, बजारदेखि गाउँसम्म महिलाहरू जम्मा भएर दर खाने गर्छन्। महिलाका दुःख सुखले भरिएका गीत गाएर हर्षोल्लास साथ तीज मनाउँछन्। तर यस वर्ष महिलाहरूले त्यसरी तीज मनाउन पाएनन्। तीजको रौनक शून्य रह्यो।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। ‘गत वर्ष निर्वाचन क्षेत्रका महिलासँग मनाएको थिए, त्यतिबेला हर्षाेल्लास फरक थियो,’ सांसद खत्रीले भनिन्, ‘यस वर्ष कोठाभित्र मनाए।’  

यस वर्ष कोरोनाका कारण हर्षोल्लासका साथ तीज मनाउन नपाएको उनको भनाइ छ। कोरोना संक्रमणको त्रासका कारण वीरेन्द्रनगरकी तिर्सना हमालले परिवारका साथ तीज मनाइन्। ‘यसपालि मन्दिर जान पाएन,’ उनले भनिन्, ‘घरमा दिदीबहिनी जम्मा भएर पनि हर्षोल्लास गर्ने स्थिति छैन।’ सुरक्षित भएर घरमै तीज मनाएको उनले बताइन्।  

‘आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीज पर्वको गहन महत्व छ,’ सुर्खेतकी गीता कोइरालाले भनिन्, ‘महिलालाई पराइ घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका छ।’ 

सामूहिक महिलाहरू जम्मा नभए पनि परिवारसहित मनाउँदा हर्षाेल्लास नै भएको उनले बताइन्। ‘व्रत बसेर श्रीमानको आयुको कामना गरे,’ वीरेन्द्रनगरकी पार्वती सिंहले भनिन्, ‘दिदीबहिनी जम्मान भएर नाचगान गर्न पाइएन।’ यस वर्षको तीज कोरोनाले प्रभाव पार्दा पहिलाजस्तो रमाइलो नभएको उनको भनाइ छ। धेरै महिलाहरू सामाजिक सञ्जालमै तस्बिरहरू हालेर खुसी बाडेका छन्। 

यस वर्ष महिलाहरू फजुल खर्च गर्न पनि पाएनन्। यतिबेला आवश्यकता भन्दा बढी महिलाहरूले फजुल खर्च गर्ने गरेको आरोप लाग्दै आएको थियो। कर्णालीमा कोरोनाको संक्रमण बढ्दै जाँदा वीरेन्द्रनगरसहित कर्णालीका केही ठाउँमा निषेधाज्ञा छ। जसले पनि महिलाहरू तीज मनाउन पाएनन्।

प्रकाशित: ५ भाद्र २०७७ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App