गत वैशाखमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका एक ५० वर्षीय पुरुषलाई ज्वरो आउने, खाना खान मन नलाग्ने, छाला कालो हुने, कमजोरी हुनेलगायत समस्या देखियो। लक्षणका आधारमा उनले विभिन्न औषधि उपचार गरे। तर बिमार घट्नुको सट्टा एकोहोरो झनै बढेपछि उनलाई परिवारले सामुदायीक मिसन अस्पताल ओखलढुंगा पु-याए।
अस्पताल पुगेपछि उनलाई कालाजार लागेको भनियो। केही समय उपचार गराएपर उनी घर फर्केको स्वास्थ्यचौकी बाहुनीडाँडाका स्वास्थ्यकर्मी मदन पण्डितले बताए। लकडाउनका समयमा जिल्ला प्रवेश गर्ने नाका जयरामघाटमा स्थापना गरिएको हेल्थडेस्कमा खटिएका बेला स्वास्थ्यकर्मीले उनलाई कालाजार भएको र उपचार भएपछि घर फर्केको जानकारी पाएका थिए। उपचारपछि फर्किएका पुरुषले आर्थिक अवस्था कमजोर भएको भन्दै नगरपालिकासमक्ष आर्थिक सहयोगको प्रस्तावसमेत राखेको अहेव पण्डितले बताए।
यस्तै, गत साउन २८ गते जिल्ला अस्पताल दिक्तेलमा पु¥याइएका बाहुनीडाँडा ट्याम्टुकका ५९ वर्षीय वृद्धलाई पनि कालाजारको आंशकामा ओखलढुंगाकै सामुदायिक मिसन अस्पताल लगिए। नभन्दै उनलाई पनि कालाजार पोजिटिभ देखिएपछि औषधोउपचार गरेर मंगलबार घर ल्याइएको आफन्तले बताएका छन्। हालसम्म एउटै वडाका पाँचजनालाई कालाजार भइसकेको र उपचारपछि घर फर्किसकेको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए। ‘जिल्लाबाहिर गएपछि कालाजार भएको पुष्टि भएकाले सबैको तथ्यांक हामीसँग हुन्न। तर, आर्थिक वर्ष २०७६÷०७७ मा चारजनालाई र चालु आर्थिक वर्ष एकजनालाई कालाजार भएको हाम्रो शाखामा रेकर्ड छ,’ सह–संयोजक घिमिरेले भने, ‘यसबारे स्वास्थ्य कार्यालय र प्रदेशलाई पनि जानकारी गराइसकेका छौं। यसको रोकथामबारेमा के गर्न सकिन्छ भनेर अहिले योजना बनिरहेको छ।’
पाँचमध्ये चारजनाको ओखलढुंगामा र एकजना महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा कालाजार भएको पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले भने कालाजारको आशंकामा एकजना बिरामीलाई अन्यत्र पठाइएको बताए। ‘लक्षणका आधारमा कालाजार हो भन्ने आशंका मात्र गर्न सकिन्छ, यकिन गर्नसक्ने अवस्था छैन,’ डा. श्रेष्ठले भने, ‘अन्यत्र पठाइएका बिरामीलाई कालाजार पुष्टि भएको हुनसक्छ। त्योबारे जिल्लामा जानकारी हुँदैन।’
स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाले पनि केही समयअघि भोजपुर, खोटाङ, ओखलढुंगालगायत पहाडी क्षेत्रमा कालाजार देखा परेको जनाएको थियो। कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्नेलगायतका लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन्।
प्रकाशित: ५ भाद्र २०७७ ०२:४४ शुक्रबार





