नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले गरिरहेका गतिविधि पार्टी नफुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधवार कांग्रेस नेता डा. चन्द्र भण्डारीले अर्का नेता डा. सुनिल शर्मालाई राखेर व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले बरु आफैले विष पिएर भए पनि पार्टी जोगाउने वाचा गरेका हुन्।
तीन जना नेता बिचको संवाद अहिले फेसबुकमा आइरहेको छ। जसमा नेता भण्डारीले महामन्त्री थापासँग समसामयिक परिस्थिति उल्लेख गर्दै पार्टी एकतामा जोड दिइरहेका सुनिन्छन्।
‘अहिले विश्वभरिबाट सबैले कांग्रेसलाई हेरिरहेका छन्। चाहे ००७ सालमा होस्, चाहे २०४७ सालमा होस्, चाहे ०६२÷६३मा कांग्रेसले नेतृत्व गरेको थियो,’ भण्डारीले भनेका छन्,‘त्यो नेतृत्वदायी भूमिका अहिले पनि कांग्रेससँगै छ।’
उनले विश्वभरिका मानिस अहिले पनि कांग्रेसमा वर्तमान र भविष्य भएका नेता भएकाले खुसी नै रहेको स्मरण गराएका छन्। ‘तसर्थ उनीहरूले संयम, धैर्य भएर अगाडि बढौँ भन्ने शुभकामना दिइरहेका छन्,’ उनले भनेका छन्।
यस्तो बेला कांग्रेसले एक ढिक्का भएर सन्देश दिनुपर्ने उनले बताए। उनले भने,‘यो पार्टी हाम्रो हो, यो देश हाम्रो हो, यी जनता हाम्रा हुन्। प्रजातन्त्र हामीले ल्याएको हो। त्यस कारण यसको संरक्षण, सुरक्षा, विकास र प्रगतिका लागि हामी एक हुन्छौँ। त्यसका लागि पार्टी सक्षम र राम्रो बनाउँछौँ, कार्यकर्ताका निम्ति समान अवसर र न्याय दिन्छौँ भन्ने प्रतिबद्धता चाहिएको छ।’ त्यसमा दुई वटा महामन्त्रीहरूले मिलेर दृष्टिकोण दिन उनले आग्रह गरे।
त्यसमा महामन्त्री थापाले आफ्नो कुरा त्यसभन्दा फरक नरहेको बताए। ‘खाली एउटा कुरा फरक के हो भने भदौ २३ गते अगाडिको नेपाल र त्यसपछिको नेपाल एउटै होइन। त्यो भ्रमबाट निस्किनुपर्छ हामीले,’ उनले भने, ‘त्यो एउटै होइन भने त्यसअघि कांग्रेस जसरी चलिरहेको थियो, त्यसरी रोकिनुहुँदैन।’
जस्ताको तस्तै रहेर आजको नेपालको नेतृत्व गर्न नसकिने उनले बताए। तर आफूहरू उत्ताउलो नभएको उनले दाबी गरे। ‘अहिलेको परिवर्तित अवस्थामा देश र जनताले, खास गरी नौजवान युवाले कांग्रेससँग उत्तर खोजिरहेका छन्। त्यो उत्तर खोजौँ भनेर अधिवेशनमा जाऔँ भनेको हो,’ महामन्त्री थापाले भने।
आफूले भनेजस्तै महाधिवेशन गर्ने अवस्था नभएको भने उनले भण्डारीसमक्ष स्वीकार गरे। ‘नभएपछि हाम्रा केही जिम्मेवारी छन्। ती जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने। तर, ती जिम्मेवारी पूरा गर्दा कांग्रेस कमजोर नहुने प्रतिबद्धता जनाए।
‘हाम्रो अभियानबाट नेपाली कांग्रेस कमजोर हुँदैन, मजबुत हुन्छ। कोही कोही मान्छेले पार्टी फुटाउँछन् कि? मैले नजानेर भनेको हो भने म जान्दिनँ,’ उनले भने,‘तर तपाईँलाई साक्षी राखेर आम जनसमुदायलाई आश्वस्त पार्न चाहन्छु–पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन।’
यदि साँच्चिकै अप्ठेरो अवस्था आए आफै विष पिउन तयार रहेको महामन्त्री थापाले बताए। उनले भने,‘बरु विष पिउँछु नि म। आफैले विष पिएर एकता जोगाउँछु।’ खोली पार्टीमा उत्तर खोज्ने काम मात्रै भएको उनले दाबी गरे।
प्रकाशित: २३ पुस २०८२ १६:०२ बुधबार





