राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले भुटानसँग अझै सुन्दर र प्रगाढ सम्बन्ध बनाउन चाहेको बताएका छन्।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले सामाजिक सञ्जालमार्फत दिएको बधाई सन्देशको जवाफ फर्काउँदै उनले यस्तो बताएका हुन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा प्रधानमन्त्री तोब्गेलाई मेन्सन गर्दै बालेनले दुई देशबीचको आगामी सहकार्य थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले लेखेका छन् ‘भुटानजस्तो सुन्दर देशसँग अझ सुन्दर र बलियो सम्बन्धको अपेक्षा गर्दछु।’
यसअघि भुटानका प्रधानमन्त्री तोब्गेले नेपालको आम निर्वाचनमा शानदार जित हासिल गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई ‘एक्स’ मार्फत नै बधाई दिएका थिए।
नेपाल र भुटानबीचको मित्रतालाई आगामी दिनमा अझ गहिरो बनाउन आफू तत्पर रहेको प्रधानमन्त्री तोब्गेले बताएका छन्।
आम निर्वाचनको नतिजा आएसँगै रास्वपाको नयाँ नेतृत्वलाई छिमेकी तथा मित्रराष्ट्रका प्रमुखहरूबाट बधाई तथा शुभकामना आउने क्रम जारी रहेको छ। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका थिए।
प्रकाशित: २६ फाल्गुन २०८२ २२:१५ मंगलबार





