८ वैशाख २०८१ शनिबार
समाज

सीमा सिल गफमै सीमित : प्रदेश २ मा संक्रमण र मृत्युको बढ्दो ग्राफ

दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।

‘सीमामा कडाइ गरिएको’ सरकारी अभिव्यक्ति भन्दा फरक छ सीमाक्षेत्रको वास्तविक दृश्य । सीमाक्षेत्रमा चल्ने तस्करीधन्दा निरन्तर चलेकै छ । भिडभाडसाथ हटिया लागेकै छ । सुरक्षा सतर्कताबिना व्यापार चलेकै छ । स्वाब संकलन गराएर गाउँ सहर घुमेकै छन । क्वारेन्टिनमा बकेकाहरू खाना खान घर पुगेकै छन । यी सबै दृश्यका निरिह दर्शक प्रशासन, प्रहरी र स्थानीय सरकार बनेका छन् । प्रदेश २ को सीमावर्ती सहर र आसपासका क्षेत्रमा कोरोना संक्रमणको ग्राफ भयावह बन्नुका मुख्य कारण यिनै हुन ।  

सीमा वारपार सघन गतिविधिका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा कोरोना संक्रमणको भयावह बनेको छ । यस गाउँपालिकाको एउटै वडाका ४४ सहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । एउटै गाउँका यती धेरै मानिस संक्रमित हुनुको कारण हो वारिपारि सहज आउँजाउ । यहाँका मानिस एक किलो चीनी र एक प्याकेट नुनका लागि पनि पारि नै पुग्छन अध्यक्ष सिंहले भने,‘पारिबाट सामानसहित संक्रमण पनि यस गाउँमा फैलिएको छ ।’ गाउँ टाँसिएकै सीमा भएका कारण यहाँका मानिसको दैनिकी पारिको कुनौली बजारमा निर्भर छ ।  

यस गाउँमा समुदायमा संक्रमण फैलिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । गाउँभरी संक्रमण फैलिएर संक्रमितको संख्या बढ्न थालेपछि गाउँपालिकाले लौनीया गाउँमै आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । कोरोनाको संक्रमण समुदायभित्र समूहमा देखिन थालेपछि सप्तरी प्रशासनले भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  

बढ्दो संक्रमण

प्रदेश २ मा कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ । जेष्ठ नागरिक दीर्घरोगीहरू कोरोना संक्रमणबाट मृत्युवरणको पहिलो सिकार बन्ने गरेको पाइएको छ । लक्षण सहितका संक्रमितको संख्या बढ्दै गएपछि आइसियू र भेन्टिलेटर अभाव चुलिएको छ । आइसोलेसन भरिएपछि होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै छ ।

शनिबारसम्म यस प्रदेशमा ६ हजार ८ सय २१ पुगेको छ ।  मृतकको संख्या ४३ पुगेको छ । पर्सामा २०, धुनषामा ७, बारामा ६, सप्तरीमा ३, सिरहामा २, सर्लाहीमा १, रौतहटमा २, महोत्तरीमा २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए । तीन हजार ६ सय १२ जना निको भएर घर फर्किसकेका छन्।

‘एक समय घट्दो क्रममा रहेको संक्रमण साउन दोस्रो साताबाट बढ्दै गएको छ, झाले भने,‘संक्रमणसँग मृत्युदर पनि बढ्दै गएको छ ।’ साउन ७ पछि लकडाउन खुकुलो भएसँगै भारतबाट अनियन्त्रित प्रवेश बढ्यो । जसका कारण संक्रमण समुदायमा फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । सीमा वारिपारि आउँजाउ नियन्त्रण गर्न सरकार चुक्दा यस प्रदेशमा कोरोना संक्रमण र मृत्युको ग्राफ उकालो लागेको चिकित्सकहरूको विश्लेषण छ ।  

प्रदेश २ मा हाल दैनिक ५ सयदेखि ७ सय पिसिआर परीक्षण भईरहेको छ । प्रादेशिक प्रयोगशाला जनकपुर, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी अस्पताल वीरगन्ज गरी ३ स्थानमा आरटी पिसिआर विधिबाट कोरोना परीक्षण भैइरहेको झाले बताए । प्रदेश २ का ८ जिल्लाको ६० लाख प्रक्षेपन गरिएको छ । 

प्रकाशित: ३१ श्रावण २०७७ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App