३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा क्षेत्रबाट पाँच लाख बराबरको हरियो मटर बरामद

भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले अवैधरूपमा हुने गरेको चोरी निकासीमा कडाइ गर्न थालेको छ । सीमा क्षेत्रमा बसेर तस्करी गर्नेले समयको फाइदा उठाउँदै नेपाल–भारतबाट अवैधरूपमा खाद्यान्न, लताकपडा, रासायनिक मलगायतका वस्तु ओसारपसार गर्ने गरेका छन् । पछिल्लो समय मोरङ प्रहरीले आफ्नो सीमा क्षेत्रमा निगरानी बढाउन थालेपछि तस्करीका सामान बरामद हुन थालेको छ ।  

प्रहरीले बुधबार धनपालथान गाउँपालिका–२ स्थित पौठाबाट अवैधरूपमा चोरी निकासी गरी भारत लैजान लागेको एक मिनी ट्रकसहित हरियो मटर बरामद गरेको छ । नेपालबाट हरियो मटर, सुपारी, मरिच, सुकमेललगायतका सामान जाने गरेको छ भने भारतबाट सूर्ति, रजनिगन्धा, रासायनिक मल, खाने तेल, कपडा, दैनिक उपभोग्य वस्तुलगायतका सामग्री अवैधरूपमा भित्रिने गरेका छ ।

धनपालथानबाट बरामद ६ हजार २ सय ५० केजी हरियो मटरसहित ट्रक बरामद गरेको छ । ‘हामीले पछिल्लो समय सीमा क्षेत्रबाट हुने चोरी निकासी र कोरोना भाइरस नियन्त्रणका लागि अवैधरूपमा मानिस ओहोरदोहोरलाई रोक्न प्रहरीको सक्रियता बढाएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘यसै क्रममा बुधबार राति करिब साढै १० बजेतिर यताबाट भारत लैजाँदै गर्दा धनपालथानबाट एक ट्रक हरियो मटर बरामद गर्‍यौं । बरामद भएको हरियो मटरको मूल्य करिब पाँच लाख रुपैयाँ रहेको छ ।’

प्रहरी आएको थाहा पाएपछि चालकले ट्रक त्यहीँ छाडेर भागेको र चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । डिएसपी राईले भने, ‘प्रारम्भिक अनुसन्धानबाट उक्त हरियो मटर धनपालथान–२ का दीलिप साहको रहेको देखिएको छ । साह र ट्रक चालक फरार भएकाले उनीहरूको खोजी कार्य भइरहेको छ ।’

प्रहरी यसअघि पनि धनपालथानबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको कपडा, खाद्यान्न, टिभी र विराटनगरको मटेरुवा र दरैया बस्ती हुँदै नेपाल ल्याउँदै गरेका खाद्यान्न, रजनिगन्धा, कपडालगायतका सामग्री बरामद गरेको छ । सीमा क्षेत्रमा प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न गस्तीमा जाँदा तस्करीमा संलग्नहरू मिली बाटो अवरोध गर्ने र प्रहरीमाथि आक्रमणका घटना भएका छन् ।  

प्रकाशित: २२ श्रावण २०७७ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App