८ वैशाख २०८१ शनिबार
समाज

लकडाउन अवधिमा विदेशमा ४५६ जनाको मृत्यु

१ सय ९ मृतकको शव विदेशमा अलपत्र

वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये लकडाउनको समयमा ४ सय ५६ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको छ।  

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दिएको प्रतिवेदनअनुसार कुल १ सय ६४ जनाको सहमतिबाटै विदेशमै दाहसंस्कार गरिएको, ८५ जनाको शव स्वेदश फिर्ताका लागि निवेदन दिइएको र ९८ जनाको शव स्वदेश ल्याई सम्बन्धित परिवारलाई बुझाइएको विभागले जनाएको छ। मृत्यु हुनेमा अधिकांश खाडी मुलुकका रहेका छन्। वैदेशिक रोजगारीमा गएका मुलुक युएई, कतार, साउदी अरब, बहराइन, मलेसिया, कुवेत, जेद्दाह, दक्षिण कोरियालगायत ८ देशमा नेपालीको मृत्यु भएको हो। युएइमा ८० र कतारमा ७५ जनाको मृत्यु भएको छ। साउदीमा १५८ जनाको मृत्यु भएको छ। दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको छ। जेद्दाहमा १३ जना, बहराइनमा १० जना, मलेसियामा ६६ जना, कुवेतमा २२ जना, अन्य २४ गरी ४ सय ५६ जनाको मृत्यु भएको कन्सुलर विभागले जनाएको छ।

युएईमा ८० जनाको मृत्यु भएकोमा ५८ जनाको दाहसंस्कार युएईमा नै गरिएको, १३ जनाको स्वेदश फिर्ताका लागि निवेदन आएको, १ जनाको शव ल्याई परिवारलाई बुझाइएको र ८ जनाको शव अलपत्र परेको छ। कतारमा ७५ जना मृतकमध्ये २५ जनाको शव कतारमै दाहासंस्कार गरिएको, १० जनाको शव स्वेदश फिर्ताका लागि निवेदन दिइएको, २३ जनाको शव स्वदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ भने१७ जनाको शव अलपत्र रहेको छ। त्यस्तै, साउदी अरबमा १ सय ५८ जनाको मृत्यु भएकोमा ३७ जनाको उतै दाहासंस्कार गरिएको, ३९ जनाको स्वदेश फिर्ताका लागि निवेदन दिइएको, ५३ जनाको शवस्वदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ। त्यहाँ २९ जनाको शव अलपत्र परेको छ। जेद्दाहमा १३ जनाको मृत्यु भएको, ३ जनाको उतै दहासंस्कार गरिएको १ जनाको स्वदेश फिर्ताका लागि निवेदन आएको र २ जनालाई स्वेदश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ। त्यहाँ ७ जनाको शव अझै अलपत्र रहेको छ।  

बहराइनमा १० जनाको मृत्यु भएको ३ जनाको शव उतै दाहसंस्कार गरिएको, ७ जना स्वेदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको थियो। मलेसियामा ६६ जनाको मृत्यु भएको, १२ जनाको स्वदेश फिर्ताको निवेदन दिइएको, १ जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको र ४५ जनाको शब अलपत्र छन्। कुवेतमा २२ जनाको मृत्यु भएको, १० जनाको उतै दाहसंस्कार गरिएको, २ जनाको स्वदेश फिर्ता गर्न निवेदन दिइएको, १० जनाको शव स्वदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ। दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको, ५ जनाको उतै दाहसंस्कार गरिएको, ३ जनाको स्वदेश फिर्ताका लागि निवेदन आएको छ।  

यीबाहेक अन्य देशमा २४ जनाको मृत्यु भएको, १५ जनाको उतै दाहसंस्कार गरिएको, ५ जनाको स्वदेश फिर्ताका लागि निवेदन दिइएको, १ जनाको शवस्वेदश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको र ३ जनाको शव अलपत्र रहेको जनाइएको छ।  

२०७० वैशाख २० गते स्थापना भएको कन्सुलर सेवा विभागले नेपाली नागरिकको खोजतलास, क्षतिपूर्ति उद्धार तथा मृतकको शव व्यवस्थापन गर्नुका साथै विभिन्न कारणले विदेश जाने नेपालीको नागरिकता परित्याग, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, सरकारी भिषा सिफारिसलगायतका सेवा प्रदान गर्दै आएको छ। यसबाहेक विभागले नेपालस्थित विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संघ संस्थालाई अन्तर्राष्ट्रिय कानुन,सन्धी–सम्झौता तथा आपसी पारस्पारिकताका आधारमा कूटनीतिक सुविधा तथा उन्मुक्ति प्रदान गर्ने गर्दछ।

प्रकाशित: १४ श्रावण २०७७ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App