coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

नेपाल रेडक्रस सोसाइटीले आफ्नो जग्गामा निर्मित भवनलाई भाडामा प्रयोग गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रसबीच विवाद सुरु भएको छ । रेडक्रसले राप्ती प्रतिष्ठानको जग्गामा ९ कोठे भवन निर्माण गरेको छ । यो भवन तत्कालीन महेन्द्र अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच रेडक्रसलाई ९ कोठे भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सहमति भएको थियो । तत्कालीन महेन्द्र अस्पतालबाट राप्ती उपक्षेत्रीय अस्पतालमा रुपान्तरित उक्त अस्पताल अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।

उक्त अस्पतालको सम्पूर्ण स्वामित्व प्रतिष्ठानको नाममा रहने व्यवस्था अनुरुप अहिले रेडक्रस सोसाइटीले उपभोग गरेको जग्गा स्वतः प्रतिष्ठानको स्वामित्वमा गएको छ । प्रतिष्ठानले सामाजिक कार्यका लागि उपलब्ध भएको जग्गामा भवन निर्माण गरेर रेडक्रसले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको भन्दै प्रतिष्ठान रुष्ट बनेको हो । ‘रेडक्रसलाई त त्यो जग्गा सामाजिक कार्यका लागि उपभोग गर्ने भनेर उपलब्ध गराईएको भन्ने त लिखित कागजनै बोल्छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘तर उक्त जग्गालाई सम्झौता विपरित व्यापारिक प्रयोजनका लागि प्रयोग गरिनु त राम्रो भएन नि ।’ ब्लडक बैंक सञ्चालनका लागि पाएको रेडक्रसले उक्त भवनको माथिल्लो तला थपेर तल्लो तलामा नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरलाई मासिक ९१ हजार रुपैयाँ भाडामा दिएको छ । ‘ब्लडक बैंक सञ्चालनका लागि रेडक्रसले पाएको प्रतिष्ठानको जगाको दुरुपयोग गर्दै ल्याब सञ्चालन गरेको छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘यो नियम संगत त भएन नै, त्यसमाथि अँझ प्रतिष्ठानको ल्याबलाई असर पार्ने गरि प्राईभेट ल्याबलाई नै भाडामा दिईयो ।’

रेडक्रसले पुरानो सहमति तोडेर भवन निर्माण गरेको दाबी समेत गरेको छ । उक्त सम्झौता अनुसार रेडक्रस सोसाइटीले ९ कोठे भवन निर्माण गर्ने र उक्त भवनमा ब्लड बैंक सञ्चालन गर्ने भन्ने उल्लेख छ । तर रेडक्रसले कतै पनि सहमति नलिएरै उक्त भवनको माथि तला थप गरेको दाबी प्रतिष्ठानको छ । भाडामा प्रयोग गर्ने गरि थप गरिएको तलाका विषयमा प्रतिष्ठानले प्रश्न उठाएको छ । ‘अनुमति नलिई भवन निर्माण गर्न नहुने भएकाले नियम विपरित निर्माण कार्य थालिएमा कारवाही हुने छ,’तत्कालीन त्रिभवुन नगरपालिकाले ९ कोठे भवन निर्माणका लागि दिएको नक्सापास प्रमाण पत्रमा उल्लेख गरिएको छ ।

ब्लड बैंक स्थापनाका लागि उपलब्ध गराईको जग्गालाई रेडक्रसले ब्यापारिक प्रयोजनका लागि प्रयोग गरेको भन्दै प्रतिष्ठानले भाडामा बसालिएको ल्याबलाई तत्काल हटाउन भनेको छ । उसले रेडक्रसलाई पत्र काट्दै नियम विपरित भाडामा राखिएको ल्याबलाई हटाउन भनेको छ । ‘सामाजिक कार्यका लागि दिईएको जग्गालाई ब्यापारिक प्रयोजनमा लगाउनु नियमसंगत हैन,’ प्रतिष्ठानले पत्र लेख्दै भनेको छ ‘तसर्थ भाडामा बसालिएको ल्याब सेन्टरलाई तत्काल हटाउन आग्रह गरिन्छ ।’

यता रेडक्रसले भने आर्थिक अभावका कारण भाडामा लगाईएको जनाउँदै भाडामा रहेको ल्याबलाई हटाउन नसकिने जनाएको छ । ‘कर्मचारी र केमिकल खरिदका लागि रक्त सञ्चार सेवा केन्द्रको तल्लो तला भाडामा दिई सञ्चालन भैरहेको जानकारी गराईन्छ,’ प्रतिष्ठानलाई प्रतिउत्तर दिँदै रेडक्रसले पत्रमा उल्लेख गरेको छ ‘हाल प्याथोलोजिसंग गरिएको सम्झौता अवधि बाँकी नै रहेकाले हटाउन नसकिने व्यहोरा जानकारी गराईन्छ ।’ रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यले उक्त ल्याबसंगको ठेक्का सम्झौता बाँकी रहेको भन्दै तत्काल उसलाई हटाउन नसकिने वताउँछन् । ५ वर्षका लागि ठेक्का दिईएको उक्त भवनको ठेक्का अवधि अब एक वर्षसम्म छ ।

‘हामीहरुले उक्त भवन भाडामा नदिएर कसरी ब्लड बैंक सञ्चालन गर्ने ?’ आचार्यले भने ‘यहि हामीहरुले भाडामा प्रयोग नगरे ब्लड बैंक नै बन्द हुने अवस्था आउन सक्छ ।’ उनले भाडा दिएको विषयमा प्रतिष्ठानले प्रश्न खडा गर्नु जायज नभएको समेत वताए । ‘उक्त भवनमा ब्लड बैंक सञ्चालन गर्ने भन्ने सम्झौता त हो,’ आचार्यले भने ‘तर ब्लड बैंक सञ्चालनका लागि हामीहरुले कहिले सम्म चन्दा माग्ने ? बरु भवनको तला थप गरेर भाडामा दिएको अवस्थामा हामीहरुलाई अहिले सजिलो त भयो नि ।’ उनले पछिले पटक तला थप्दा स्थानीय तहबाट नक्सा पास सम्बन्धी अनुमति भने नदिएको बताए ।

‘हामीहरुले नक्सा पासको प्रकृया सुरु गरेका पनि हौँ, तर विविध कारणले त्यतिकै रोकियो,’ उनले भने ‘नक्सा पास त ठूलो कुरा हैन नि अहिले पनि गर्न सकिन्छ ।’

प्रकाशित: ८ श्रावण २०७७ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App