१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा बाढीको कहर : सडक संजाल जलमग्न, धान खेती नष्ट

लगातार परेको पानीले रौतहटको अधिकांश जमिन डुबानमा परेसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको क्याम्प समेत डुबानमा परेका छन् । गत आईतबार देखि निरन्तर रुपमा भईरहेको वर्षाको कारण बकैया र बागमती नदिमा आएको बाढीको पानीले सशस्त्र प्रहरी तथा नेपाल प्रहरी कार्यालयहरू डुबानमा परेपनि सुरक्षाकर्मीले बाढी पिडितको उद्धारमा खटेको पाइएको छ ।  

झाझ खोलामा आएको बाढीले रौतहटको हजमिनियामा रहेको सशस्त्र प्रहरीको ११ नम्बर गण नै डुबानमा परेका छन् । बाढीको पानी गणमा प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले कार्यालयका सामनहरू सुरक्षित स्थानमा राखेर बाढी पिडितको उद्धार कार्यमा जुटेका छन् ।

सशस्त्र प्रहरीको ११ नम्बर गणमा मंगलबार राति १२ बजे झाझ खोलामा आएको बाढी प्रवेश गरी ३ फिटमाथि हुन लागेपछि सशस्त्र प्रहरीका सवारी साधनहरू, खाद्यान्न सामग्रि एवं बन्दोबस्तीका सामान सामानहरू सुरक्षित स्थानमा सारिएको ११ नम्बर गणका प्रम्ख एसपी रविनराज कर्णजितले बताए ।

बागमती र बकैया नदीमा आएको बाढीको पानी सदरमुकाम गौरमा प्रवेश गर्न थालेपछि गौर भन्सार कार्यालय नजिक रहेको सशस्त्र प्रहरीको वेस क्याम्प र लक्ष्मीपुर वेलविछवा वेस क्याम्प समेत ड्बानमा परेका छन् ।  

जतिसुकै आफुहरू संकटमा परेपनि मानविय धर्म निर्वाह गर्नका लागि विभिन्न स्थानमा सशस्त्र प्रहरीका एक एक जवान एवं अधिकृतहरू खटिएर सम्भावित बाढी एवं डुबानको जोखिमबाट जोगाउको लागि दिनरात खटिरहेको एसपि कर्णजितले बताए । वागमती र लाल बकैया नदी आएको बाढीले बाँध फुट्ने एवं कटान भईरहेको स्थानहरूमा रातभरी जनरेटरबाट बत्ति बालेर नियन्त्रणको कार्यमा सुरक्षाकर्मी खटिरहेको बताए ।  

बागमती नदीमा आएको बाढीले राजदेवी नगरपालीकाको ब्रम्हपुरी, बसतपुर, माधवनारायण नपाको पिपरारजबाडा र लाल बकैया नदीमा आएको बाढीले परोहा नपाको तेजापाकड र बौधीमाईको १ र २ मा बनाएको तटबन्ध नै तिव्ररुपमा कटान गरिरहेको छ । उक्त स्थानहरूमा जनरेटर बालेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको साथै स्थानीय बासिन्दाहरू कटान कार्यलाई नियन्त्रणमा लिन रातभरी खोलामा जोखिम मोलेर नियन्त्रणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

नेपाल प्रहरीको २ सिमा पोष्ट सारियो  

लाल बकैया नदीमा आएको बाढीले प्रहरी चौकी पुर्ण रुपमा डुबानमा पर्न थालेपछि जिल्लाको दुई प्रहरी चौकी सुरक्षित स्थानमा सारिएको छ । बाढीको पानी गौर भन्सार कार्यालयको सुरक्षार्थ रहेका प्रहरी चौकी पुर्ण रुपमा ड्बानमा परेपछि नजिकै रहेको अग्लो घरमा सारिएको छ भने इशनाथ नगरपालिका १ बन्जरहा सिमा प्रहरी चौकी समेत डुबानमा परेपछि अन्तै स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सडक संजाल जलमग्न आवागमन अवरुद्ध

निरन्तर रुपमा भइरहेको अबिरल वर्षको कारण रौतहट सदरमुकम गौरको वरिपरी एवं ग्रामिण भेगका सड्कहरू समेत जलमग्न भएको छ ।  

गौर–चन्द्रपुर सडक खण्ड अन्तर्गको पर्ने सपगढा कजवेमा बकैया खोलामा आएको बाढीले मंगलबार राति देखि मुख्य सडक अवरुद्ध बनेको थियो । बुधबार बिहान ११ बजे देखि  आफतमा परेका यात्रुहरूलाई सपगढाका स्थानीयहरूले ट्रेक्टरमा राखेर प्रति व्यक्ति सय रुपैयाका दरले ओहोर दोहोर गराइरहेका छन् ।  

जिल्लाको पुरानो गंगापिपारा बनारबाट गौर जोडिने रजैया सडकको राजदेवी नपा र दुर्गा भगवती गापाको सिमामा पर्ने पथरा पुलको डाइभर्सन बगाउदा सडक अवरुद्ध बनेको छ । ग्रामिण भेगका यात्रुहरू बाटो अवरुद्ध भएपछि बैकल्पिक रुपमा गौर चन्द्रपुरको सडक प्रयोग गरेर जोखिम उठाएर सदरमुकाम तर्फ गईरहेको देखिएको छ  ।

बकैया नदीले बगाएर १ जना वेपत्ता

लाल बकैया नदीमा आएको बाढीको पानीले एकजनालाई बगाएर वेपता पारेका छन् । स्थानीय कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवाका १९ बर्षिय बैजु यादव लाई लाल बकैया नदीले बगाएको हो । लाल बकैया नदीमा दाउरा टिप्न जाँदा बुधबार ११.३० बजेको समयमा बाढीको भेलले यादवलाई बगाएको थियो ।  

बाढीले बगाएर वेपत्ता यादवको सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै स्थानीय बासिन्दाहरू खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताए । वेपताको खोजिकार्य भएरहेको एसपि खडकाले बताए ।  

मंगलवार खहरे खोलाले बगाउदा चन्द्रपुर ३ गैडाटारका ५५ बर्षिय सुकमान थिंगको मृत्यु भएको थियो । थिंगको शव खहरे खोला चाँदीमा मिसिएको दोभान भन्दा ३०० मिटर दक्षिणमा उनको शव फेला परेको थियो ।

हजारौ विगहा लगाइएको धानबाली नष्ट

अविरल बर्षा संगै जिल्लाको विभिन्न नदी एवं खोलामा आएको बाढीले हजारौ विगहामा लगाएको बालीनाली नष्ट भएको छ । वागमती, लाल बकैया, झाझ, भकुवा, तरहरी, चाँदी अरुवा लगायतका खोलामा आएको बाढीले हजारौ विगहामा लगाएको धान एवं तरकारी बाली डुबानको कारण नष्ट हुँदा किसानहरू चिन्तीत बनेको छ ।  

गत साता अघि आएको बाढीले सखाप बनाएका धान खेतहरूमा पुनः विऊ ल्याएर रोपाई गरेका किसानहरू लगतै आएको अर्को बाढीले समाप्त पारेका छन् । दोश्रो पटक आएको बाढीले भान खेती नै पुर्ण रुपमा सखाप बनाएपछि किसान सँग अव रोपाई गर्न विऊ नै छैन, आकल झुकल कोइ कोइको विउ छ भने त्यसमा छर्ने मल छैन, किसानहरू निकै आर्थिक संकटमा परेको किसान संघका अध्यक्ष अशोक यादवले बताए ।  

जिल्लाको १८ वटै स्थानीय तहको अधिकांश जग्गामा लगाइएको धान र तरकारी बाली नष्ट भएको छ । तर अहिले सम्म बाढीबाट धानी बालीमा भएको नोक्सानीको विवरण आउन सकेको छैनन् ।

प्रकाशित: ७ श्रावण २०७७ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App