जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएकाले यसलाई परास्त गर्नुपर्ने बताएका छन्।
सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको बताउँदै उनले मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने भनाइ राखे।
'सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको हो,' उनले सामाजिक सञ्जालमा लेखे, 'मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने नै छ।'
राउतले पार्टी कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले नचल्ने भन्दै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने बताए।
यस्तै, संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएकाले सो पार्टीले बैठकबाट निर्णय नै गरेको बताउँदै उनले भने, 'संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएको छ, सो पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो। यसर्थ मधेश यी संघीयता विरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ। त्यो नै मधेशी शहीदको सम्मान हुनेछ।'
प्रकाशित: १७ माघ २०८२ ०७:३३ शनिबार





