७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भक्तपुरको गाईजात्रा औपचारिकतामा सिमित

भक्तपुरको यसवर्षको गाईजात्रा औपचारिकतामा सिमित हुने भएको छ । गाईजात्राका क्रममा हुने घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने भएको छ ।  

गाईजात्राबारे भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरोकावाला संस्कृतिकर्मीहरूको नगरस्तरीय भेला भएको थियो । भेलाले जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु र सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिमका कारण अरु जात्रा र पर्व जस्तै अब आउने जात्राहरूलाई पनि औपचारिकतामा मात्र सीमित गर्नुपर्ने सुझाब दिएका थिए । भेलामा ठूलो भीड जम्मा हुने कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, जनताहरुलाई यो रोगबारे निरन्तर सचेत बनाउँदै लानुपर्नेलगायतका राय–सुझाबहरू प्रस्तुत भएको थियो । साथै जात्रा सञ्चालनबारे भक्तपुर नगरपालिकाको औपचारिक निर्णयको लागि पनि उनीहरूले सुझाएका थिए ।  

छलफलले ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन ४ गते गथामग चर्हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा (सापारु) पर्व पर्ने र ती सवै औपचारिकतामा सिमित गर्न सुझाएको थियो । ती दुबै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भई कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको जोखिम बढ्ने खतरा रहने हुँदा सरोकावाला संस्कृतिकर्मीको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझाबअनुसार गथामग चर्हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस रोग नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले विदेशबाट फर्केकाहरुलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरिरहेको बेला समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न निकै गार्हाे हुने भएको बताए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोरोना रोगको जोखिमका कारण भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नाच तथा प्रदर्शनीहरु समय र परिवेशअनुसार परिमार्जन र परिष्कृत गर्दै लानुपर्ने बताइन् । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरका मूर्त अमूर्त सम्पदा र संस्कृति यहाँको पहिचान भएको बताउँदै कोरोना संक्रमित रोगीहरुसँग सम्पर्क हुन नदिन नजिकिँदै गरेका जात्रा तथा पर्वहरुलाई औपचारिकतामा सीमित गर्नुपर्ने अवस्था आएको बताए ।

प्रकाशित: ३० असार २०७७ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App