१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीले फेरि भने- भगवान् रामको जन्म नेपालकै ठोरीमा भएको हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि नेपालकै ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्‍याएका छन्।

बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले शास्त्र र ऐतिहासिक तथ्यका आधारमा रामको जन्मस्थान वीरगञ्जभन्दा पश्चिमपट्टी रहेको जिकिर गरेका हुन्।

‘शास्त्रले भन्छ, राम जन्मिएको ठाउँ वीरगञ्जभन्दा पश्चिमपट्टी ठोरीतिर हो,’ अध्यक्ष ओलीले भने, ‘अहिले कसैले माडी भन्छन्, तर त्यसबेला माडी भन्ने ठाउँ नै थिएन, ठोरी नै थियो।’

आफ्नो दाबीलाई पुष्टि गर्न अध्यक्ष ओलीले पाँचौं शताब्दीमा नेपाल आएका चिनियाँ यात्री फाहियानको यात्रा विवरणको सहारा लिएका छन्।

उनले फाहियानले सन् ४३५ मा लेखेको यात्रा वृत्तान्तमा दक्षिण एसियाको भ्रमण गर्दा रामग्राम र राम जन्मभूमिको वर्णन गरेको उल्लेख गरे।

‘पाँचौं शताब्दीमा फाहियानले नेपाल, भारत लगायतका देश घुमेर फर्केपछि लेखेको किताबमा रामग्राम र राम जन्मभूमिको वर्णन छ,’ ओलीले भने, ‘चिनियाँ जिब्रोले ठोरी भन्न नसकेर ‘लोरी’ वा ‘लोली’ भनेको पाइन्छ। त्यही लोली (ठोरी) नै मुख्य ठाउँ थियो।’

अध्यक्ष ओलीले आफूले कुनै देशको विरोध वा समर्थनमा नभई शास्त्रहरूको अध्ययनबाट प्राप्त ऐतिहासिक तथ्यका आधारमा यो कुरा बोलेको स्पष्ट पारे।

‘मैले राजनीति गरेको होइन, आफैंले शास्त्रहरूको अध्ययन गर्दा प्राप्त गरेको ऐतिहासिक तथ्य राखेको हुँ,’ उनले भने।

विगतमा प्रधानमन्त्री हुँदा पनि अध्यक्ष ओलीले अयोध्या नेपालकै ठोरीमा पर्ने अभिव्यक्ति दिएपछि नेपाल र भारतमा तरङ्ग पैदा भएको थियो।

बुधबारको सम्बोधनमा उनले पुनः सोही विषयलाई पुन: उठान गरेका हुन्।

प्रकाशित: २३ पुस २०८२ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App