१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

बालसखाको बिदाइ!

स्मृति

केही दिनअघि स्कुलका बालसखा योगेन्द्र शाक्यले मेरो मेसेन्जरमा लेखे, ‘अलबिदा भएका मित्रहरूको योगदान सम्झना उत्सव मनाऔं।’ त्यसमा एउटा तस्बिर थियो ‘विराटकेशर सिंह’को। यो सूचना अपत्यारिलो थियो। मैले विश्वास गर्न सकिनँ। योगेन्द्रसँग सम्पर्क गर्न कोसिस गरेँ, भएन। विराटकी नातेदार इरा शाहको फोनसमेत उठेन। पछि दुवैबाट ‘कल ब्याक’ पाएँ। सत्य–तथ्य बेलिविस्तारबाट चाल पाएँ। पुस २६ गते उनी यो संसारबाट भौतिक रूपमा बिदा भएछन्। पीडाले भरिएको मन बोकेर त्यो दिन बिताएँ। मलाई लाग्यो, एक असल, भद्र, शालीन, देशभक्त, अन्तर्राष्ट्रिय कूटनीतिक अनुभवी अधिकारवादी व्यक्तिलाई एक साथीले मात्र होइन, राष्ट्रले पनि गुमाएको छ।

स्कुले भाषामा विराट मेरो ‘बेस्ट फ्रेन्ड’ थिए। बाल्यकालको सबैभन्दा प्रिय मित्र गुमाएको थिएँ मैले। एक प्रिय बालसखा गुमाउँदाको वेदना चाल पाएँ। निकै लामो बिछोडपछि उनकै खोजीमा पुनर्मिलन भएको थियो। विराटले मलाई कसरी हेर्थे वा मान्थे, उनलाई सोधिनँ। मप्रति उनको मनभाव कस्तो थियो, बुझ्ने कोसिस पनि गरिनँ। सोध्ने कुरा पनि थिएन। तथापि सामाजिक सञ्जालमार्फत पत्ता लगाएर पैंतालिस वर्षपछि २०६५ सालमा सेन्ट जेभियर्सको एक वार्षिक कार्यक्रममा उनीसमेत अन्य बाल्यकालका मित्रहरूसँग मेरो पुनः भेट भएको हो।

२०१७ सालको राजनीतिक ‘कू’मा बुबा इन्द्रप्रसाद प्रसाईं कुपन्डोलबाट गिरफ्तार हुनुभएको थियो। त्यसपछि शान्तिनगर, झापाबाट सिर्सिया, सर्लाही निवासी कारबारी काका रामजी यादवले काठमाडौं ल्याउनुभयो। केही समय त्रिपुरेश्वरको विश्वनिकेतन विद्यालयमा पढेँ। जेलमुक्त भएपछि बुबाले सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा ‘बोर्डर्स’ हुने गरी कक्षा १ मा सन् १९६१ तिर भर्ना गरिदिनुभयो। कक्षा ३ पछि भने घरबाट स्कुल जान थालेँ। विराट पनि कुपन्डोलवासी भएकाले प्रायः हामी सँगै बसबाट घर फर्कने गर्थ्याैं।

एक दिन विद्यालय छुटेपछि उनको घरमा जाने प्रस्ताव गरेँ। विद्यालयकै लुगामा कालधारास्थित उनको अर्को घरमा गयौं। उनको जन्मदिन रहेछ। खेल्ने र कुद्ने निकै फराकिलो ठाउँ थियो र निकै रमाइलो भयो पनि। कुपन्डोल घर फर्कंदा निकै ढिला भइसकेको थियो। म साथीसँग गएको सूचना घरमा कसैलाई थिएन। निकै ठुलो हंगामा मच्चिएको रहेछ। स्कुल, सारा प्रहरी कार्यालय र अस्पतालमा मेरो खोजी भएछ। परिवारलाई निकै ठुलो पीडा दिएछु। मैले यो कुरा विराटलाई भनेको थिइनँ।

जावलाखेलबाट चौथो कक्षा पास गरेपछि गोदावरी स्कुलमा जानुपथ्र्यो तर सीमित कोटा भएकाले होला, मेरा साथीहरूसँगको स्कुले यात्रा यहीं रोकियो। त्यसपछि राजनीतिक कारणले भारतको बागडुगरा (सिलिगुडी) निर्वासनमा रहनुभएका साहिँला बुबाका छोरा, नेपाली कांग्रेसका नेता सिके प्रसाईंले दार्जिलिङको ‘नर्थ पोइन्ट स्कुल’मा भर्ना गरिदिनुभयो। त्यस बेला स्कुलमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र तथा धीरेन्द्र शाह पढ्थे। युवराज वीरेन्द्र भने पास भएर स्कुल छाडिसकेका थिए।

कक्षा शिक्षकले हरेक हप्ता मन लागेका व्यक्तिलाई एउटा चिठी लेख्न कक्षाकार्य दिन्थे। त्यस बेला मेरो मनमा सम्झना आउँथ्यो विराटको नाम। उनलाई चिठी लेख्थेँ र जवाफ पनि फर्काउँथे उनले। हाम्रो चिठीपत्र आदानप्रदान वर्षभरि चल्यो। यतिखेर सम्झँदा लाग्छ– उनलाई मैले निकै ‘मिस’ गरेको रहेछु, जसरी उनको अनुपस्थितिमा हिजोआज मनमा खिन्नता छाएको छ।

विराट संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा काम गरेको कुरा उनीसँगको भेटपछि मात्र थाहा भयो। उनले विश्वका धेरै मुलुकमा महत्त्वपूर्ण पदमा काम गरेका तथा कतिपय देशमा राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को प्रमुखसमेत रहेका थिए। राष्ट्रसंघको कूटनीतिक सेवामा तीस वर्ष योगदान गरेको कुरा योगेन्द्र–विन्दु शाक्यद्वारा बुधबार नगरकोटको बतासे डाँडामा आयोजित ‘सम्झना उत्सव’ कार्यक्रममा सम्बोधनका क्रममा सुबोध राणाले खुलासा गरेका थिए।

उनका विभिन्न देशका कूटनीतिक अनुभवबाट देशले फाइदा लिन नसकेकोमा दुःख लागेको छ। मुलुकको लोकतन्त्र गलत ढंगबाट अघि बढेकोमा उनी चिन्तित थिए। सत्याग्रही गंगामाया अधिकारी लगायत द्वन्द्वपीडितको न्यायको विषयमा उनको गहिरो चासो थियो। सरकारले ध्यान नदिएको मानसिक स्वास्थ्यका साथै ‘बाइपोलार’प्रति (औंसी–पूर्णे लागेको) र संविधानका विभेदकारी प्रावधानमा उनको सरोकार थियो।

‘विश्व बाइपोलार दिवस’ एक प्रख्यात चित्रकार ‘भिन्सेन्ट भ्यान गोग’को सम्झनामा २०१४ मार्च ३० देखि विश्वभर मनाउन थालिएको हो। नेपालमा यसको सुरुवात विराटले गरेका हुन्। मृत्युपश्चात् यस समस्याबाट ग्रसित भएको अनुमानमा भिन्सेन्टको जन्मदिन पारेर यो दिवस विश्वभर मनाइन्छ। यसको मुख्य उद्देश्य सबै नागरिकमा यस विषयमा जनचेतना फैलाउनु हो। दुःख–कष्ट झेलिरहेका प्रभावित व्यक्तिहरूप्रति मानवीय संवेदनाको चेतना अभिवृद्धि गर्नु हो।

नेपालमा सन् २०१५ मा डा. बुद्ध बस्नेत, मलगायत मानसिक स्वास्थ्य विज्ञबिच एक अन्तरक्रिया कार्यक्रम विराटले काठमाडौंमा आयोजना गराएका थिए। त्यस दिन मात्र थाहा भयो, उनी पनि यस बिरामीको प्रभावमा रहेछन्। यस अभियानको निरन्तरता केही वर्ष उनले दिए। मानसिक स्वास्थ्य विषयप्रति गगन थापा मन्त्री भएपछि मात्र सरकारको ध्यानाकर्षण भएको हो। गगनले एक विज्ञ समूह गठन गरेर मन्त्रालयको यो नियमित कार्यक्रम बनाएका हुन्।

संविधानको मौलिक हकको धारा ३८ ले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने छ भनिएको छ। तर नागरिकतासम्बन्धी व्यवस्थाले महिला र पुरुषबिच भेदभाव गरेको छ। वंशीय आधारमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछिन् तर पुरुषलाई त्यो अधिकार छैन।

बाबु विदेशी भएमा सन्तानले अंगीकृत नागरिकता लिन बाध्य हुन्छन् तर आमा विदेशी भएमा वंशीय आधारमा उनीहरूले नागरिकता सहज प्राप्त गर्छन्। यसबाट असंख्य महिला तथा पुरुष अन्यायमा परेका छन्। विराटको परिवार पनि यसबाट प्रभावित भएको छ।

फागुन २१ गतेको निर्वाचनले मुलुकको भविष्य निर्धारण गर्नेछ। हल्लै–हल्लाको प्रभावमा नागरिक पर्ने हुन् वा विवेक प्रयोग गर्ने हुन्? आक्रोश, घृणा, त्रास फैलाउने र मानव अधिकार हननकर्ता देशको प्रधानमन्त्री बनाउने छन् वा राजनीतिक संघर्षबाट खारिएका विवेकी, परिपक्व तथा मानव अधिकारमैत्री नेतृत्वले देश पाउने हो? भ्रम तथा ‘पपुलिस्ट’ नाराबाट नेता बनेकाले झुक्याउने छन् कि संविधान संशोधनमा सबै दललाई समेटेर अघि बढ्ने भूराजनीतिक संवेदना बुझ्ने नेतृत्वको चयन गर्ने हुन्? ठगी आरोपितका कुरालाई पत्याउने कि नाता वा नेता नहेरी भ्रष्टाचारीलाई कारबाही गर्ने निरन्तर वकालत गर्ने नेतृत्वलाई विश्वासको मत दिने? निर्णय मतदाताको हातमा छ।

‘भोट’ नागरिकको शक्ति हो, एक ‘जाबो मत’ होइन यो। आफ्नो सार्वभौम अधिकारको प्रयोग हो। हाम्रो अविवेकी निर्णयले मुलुकको लोकतन्त्र मात्र होइन, देशको अस्तित्व पनि समाप्त हुन सक्छ। सिक्किम भारतमा विलय भएको केही वर्षपछि एक सुवेदी थर भएका सिक्किम विधानसभाका सांसदसँग रेल यात्रामा मेरो भेट भएको थियो। त्यस बेला उनले भनेका थिए - प्रलोभन, उक्साहट र लहैलहैमा सिक्किम भारतमा मिसाइयो तर यतिबेला मात्र चाल पायौं, राष्ट्र तथा पहिचान गुमाएको पीडा।

विराटप्रति श्रद्धाञ्जली! उनकी धर्मपत्नी समा, छोरी-ज्वाइँ शिवानी र ब्रेनमा संवेदना!

प्रकाशित: १६ फाल्गुन २०८२ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App